सुत्केरी हुन अस्पतालमा भर्ना भएकी गर्भवतीको मृत्यु

सुर्खेत, २१ वैशाख । सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनी सामान्य अवस्थामा सुत्केरी हुन बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । तर राती १२ बजेसम्म उनलाई हेर्न चिकित्सक नआएको परिवारले बताएका छन् ।

मनिषाका श्रीमान् जगत सिंहले डाक्टरले नहेरेकै कारण आफ्नो श्रीमतीको मृत्यु भएको अरोप लगाएका छन् । उनले श्रीमतीलाई विहानै अस्पताल भर्ना गरे पनि डाक्टरले आएर हेरविचार नै नगरेको सिंहको आरोप छ ।

छिटो सुत्केरी गराउन नर्सले सूई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहले बताए । “बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,” उनले भने ।

उनका अनुसार अहिलेसम्म मृतक बच्चा मृतक सिंहको पेटभित्र नै रहेको छ ।

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमानको आरोप छ । अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा राति १ बजेसम्म पनि डाक्टर उपचारका लागि नआएको उनको भनाई छ ।

अस्पतालले लापर्वाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

उपचारमा लापर्वाही गर्नेलाई कडाभन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ ।

फोक्सोमा पानी जम्दा गर्भवतीेको मृत्यु : अस्पताल प्रशासन

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएका छन् ।

गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापर्वाही नभएको डा खड्काको भनाइ छ । उनले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो ।

पाँच दिनदेखि मरेको बच्चा पेटमा

दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी) का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् ।

दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना भएकी छन् । वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आएकी हुन् ।

सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताए । अस्पतालले औषधि किनेर ल्याउनुस् मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उनले बताए । अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *