पाल्पा : सबै वडामा ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने पूर्वखोला बन्यो पहिलो गाँउपालिका

‘बर्थिङ सेन्टर’ उदघाटन गर्दै गाँउपालिका अध्यक्ष नुनबहादुर थापा

पाल्पा, ६ बैशाख । जिल्लाको पूर्वखोला गाँउ पालिकाको सबै छ वटै वडामा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएको छ । सबै वडामा ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने पूर्वखोला जिल्लाकै पहिलो गाँउ पालिका बनेको छ ।

गाँउ पालिकाका अध्यक्ष नूनबहादुर थापाले ‘जिरो होम डेलिभरी’अभियान अन्तरर्गत छ वटै वडामा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको बताए । उनले सबै ‘बर्थिङ सेन्टर’मा गाँउपालिकाले २४ घण्टा दक्ष प्रसूतिकर्मी (अनमी) सहित प्रसूतिका लागि आवश्यक मेडिकल उपकरणहरु उपलव्ध गराइएको बताए ।

त्यसो त संघीय संरचना अनुसार पूर्वखोला गाँउ पालिकामा आवद्ध भएका वडा ( तत्कालिन तीन वटा गाविस)मा पहिले नै बर्थिङ सेन्टर सञ्चालन भएका थिए । हाल १ नम्बर वडामा पर्ने तत्कालिन सिलुवा गाविस, ३ नम्बर वडामा पर्ने तत्कालिन रिङ्नेरह गाविस र ५ नम्बर वडामा पर्ने तत्कालिन बीरकोट गाविसमा पहिले नै बर्थिङ सेन्टर सञ्चालनमा आएको थियो ।

पछिल्लो पटक २ नम्बर वडामा पर्ने तत्कालिन जल्पा गाविस, ४ नम्बर वडामा पर्ने तत्कालिन देवीनगर गाविस र छ नम्बर वडामा पर्ने हेकलाङ गाविसमा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।

गाँउपालिकाका सूचना अधिकारी सीअहेव मोहन ढकालले गाँउ पालिकाका बर्थिक सेन्टरमा अहिलेसम्म ४६ जना सुत्केरी भइसकेको बताए । ‘१८ हजार ५२२ जनसंख्या भएको गाँउ पालिका हो । यहाँ बर्षमा गर्भवती हुनेसंख्या ५३१ हुनसक्छ भन्ने अनुमान हो । त्यसमध्ये ४६ जनाले गाँउकै बर्थिङ सेन्टरबाट सुत्केरी भइसकेका छन् ,’  उनले भने ।

‘त्यसो त गाँउ पालिकामा रहेका गर्भवतीहरु घरमा सुत्केरी हुने दर लगभग अन्त्य नै भइसकेको छ । बर्थिङ सेन्टर बाहेक कोही तानसेनस्थित अस्पताल, कोही रामपुरमा रहेका अस्पताल, कोही ताहूँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा जाने गरेका छन् । तर घरमै बसेर सुत्केरी हुने क्रम बन्द नै भयो भन्दा हुन्छ,’ ढकालले भने ।

उनले प्रसूति सेवालाई थप प्रभावकारी बनाउन अनमीहरुलाई एसबीए तालिम उपलव्ध गराउन सरकारसंग माग गरेको समेत जानकारी दिए । ‘हाम्रो अवको योजना सबै प्रसूतिकर्मीलाई एसबीएस तालिम दिने भन्ने हो । त्यसका लागि राष्टिय तालिम केन्द्रमा माग समेत प्रस्तुत गरेका छौँ ,’ ढकालले भने ।

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई गाँउ पालिकाले थप्यो ६ सय रुपैयाँ
यसैबीच पूर्वखोला गाँउ पालिकाले बर्थिङ सेन्टरमा गएर सुत्केरी हुनेहरुका लागि थप ६ सय रुपैयाँ प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको छ । यो संगै बर्थिङ सेन्टर गएर सुत्केरी हुनेले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

‘एक हजार रुपैयाँ यातायात सुविधा जो पहिले देखि नै सरकारले उपलव्ध गराएको थियो । ४ पटक गर्भजाँच गराएवापत थप चार सय पनि उनीहरुले पाउने गरेका थिए । अहिले हामीले बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेलाई थप ६ सय दिने निर्णय गरेका छौँ । त्यसमा ३ सय सुत्केरीलाई नै र बाँकी ३ सय गर्भवती लिएर आउने व्यक्तिका लागि भनेर छुट्याइएको छ । लिएर आउने व्यक्तिमा घरका सदस्य पनि हुनसक्छन वा महिला स्वास्थ्य स्वयंसेविका पनि हुनसक्छन्,’ अध्यक्ष थापाले प्रष्ट पारे ।

त्यसो त पूर्वखोला गाँउपालिकाले हरेक ८० बर्ष नाघेका बृद्धबृद्धालाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्य समेत सञ्चालन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *