पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण
काठमाडौँ, २२ चैत । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाठेघरसम्बन्धी क्यान्सरको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले सर्वोच्च शिखर आरोहण गर्ने भएकी छन् ।
महिलालाई लाग्ने उक्त रोगको उपचार खर्चिलो हुने हुँदा त्यसलाई समयमै पहिचान गरी रोकथाम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले गोर्खाकी २७ वर्षीया श्रेष्ठले हिमाल चढ्न लागेकी हुन् । यही चैत २३ गते काठमाडौँबाट बेसक्याम्प (लुक्ला) तर्फ जाने र करीब एक महिनाको समयावधिमा आरोहण पूरा गर्ने जनाइएकी छन् ।
आफ्नो कामको सिलसिलामा देशका विभिन्न स्थानमा संग्रह गरेका हिमाल तथा अन्य नेपाली महिलाका महत्वपूर्ण तस्बीरसमेत सगरमाथमा प्रदर्शन गर्ने कायक्रम छ । पत्रकारितामा स्नातकको अध्ययन पूरा गरी पाँच वर्षदेखि फोटो पत्रकारिताको क्षेत्रमा क्रियाशील श्रेष्ठले यसअघि गृह जिल्लामा पर्ने मनास्लुको आरोहण पूरा गरिसकेकी छन् ।
पत्रकार श्रेष्ठले पाठेघरको मुखमा हुने क्यान्सरले विश्वका महिलालाई नराम्रो प्रभाव पारेकामा चिन्ता व्यक्त गर्दै नेपालमा पनि यो रोग १५ देखि ४४ वर्ष उमेरका महिलामा क्रमिक रुपमा बढ्दै गएको पाइएकाले समयै उपचारका लागि सन्देश फैलाउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।
नेपालमा जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिको समुदायमा पुनः स्थापनामा क्रियाशील संस्था करुणा फाउण्डेशन र रोगीलाई उपचारमा विभिन्न सहयोग उपलब्ध गराउने फिमेल क्यान्सर फाउण्डेशन सहकार्यमा उक्त रोगका बारेमा सचेतना फैलाउन लागिएको छ ।
रोग लागिसकेपछि आइपर्ने खर्च, दुःख र पारिवारिक विखण्डन हुनबाट सहयोग पुग्ने भन्दै ती संस्थाले श्रेष्ठको आरोहणलाई सफल बनाउन समन्वय गरिरहेका करुणा फाउण्डेशनका प्रतिनिधि दीपकराज सापकोटाले जानकारी दिए। रासस