निजी मेडिकल कलेजले मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीद्धारा प्रदर्शन
काठमाडौँ, १५ माघ । त्रिवि अन्तरगर्तका निजी मेडिकल कलेजहरुले एमबीबीएस भर्नाका लागि आफूखुशी शुल्क निर्धारण गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले निजी मेडिकल कलेजको ज्यादती भन्दै माइतीघर देखि बानेश्वर सम्म प्रदर्शन समेत गरेका छन् ।
आइओएम महाराजगञ्ज क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा भएको प्रदर्शनमा सयौँ विद्यार्थी सहभागी थिए । उनीहरुले विद्यार्थीहरुसंग तोकिएको शुल्क मात्रै लिने व्यवस्था मिलाउन आइओएम प्रशासनको ध्यानाकर्षण गराएका थिए ।
मनलागी शुल्क उठाउने गरेको भन्दै आलोचना बढेपछि त्रिविले यसपटक देखि आइओएमबाट तोकिएका कलेजका लागि भर्ना गर्ने व्यवस्था गरेको थियो । त्यसपछिका होस्टेल शुल्क, खाना शुल्क, परीक्षा शुल्क कलेजले नै लिन पाउने व्यवस्था थियो । तर कलेजले त्यसबाहेक पनि बार्षिक शुल्क, इन्टनशीप शुल्क, फिल्ड भिजिट जस्ता शीर्षकमा ठूलो रकम माग गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
विद्यार्थीहरुले युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेज चितवन र किष्ट मेडिकल कलेज ललितपुरमा भर्नाका लागि गएका विद्यार्थीहरुसंग अनाधिकृत रुपमा बढी पैसा असुलेको आरोप लगाएका छन् । ती कलेजहरुले सरकारले तोकेभन्दा ६ देखी १६ लाख बढी शुल्क आफूहरुसंग मागेको विद्यार्थीहरु बताउँछन् ।
स्ववियू अध्यक्ष मिलन गैरेले निजी मेडिकल कलेजको बदमासी आइओएमबाट भर्ना लिन थालेपछि झनै छताछुल्ल भएको बताए । उनले आफूहरु निजी मेडिकल कलेजको बदमासी विरुद्ध आन्दोलन छेडेको भन्दै सरकारले तत्काल यसको समाधान गरिदिनुपर्ने बताए ।
सरकारले भने एमबीबीएसमा उपत्यका भित्र ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ ।
सम्पर्क इमेल : [email protected]