एक दिने स्वास्थ्य शिविरमा १५ हजार जनाको उपचार

महोत्तरी, ८ भदौ । महोत्तरीको २६ स्थानमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १४ हजार ७६२ जनाको उपचार गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले ३७ बाढी डुबान गाउँका लागि आयोजना गरेको स्वास्थ्य शिविरमा पाँच हजार ९८२ पुरुष र आठ हजार ७७९ जना महिला गरी सो सङ्ख्याका बाढीपीडत प्रत्यक्ष लाभान्वित भएका थिए ।
बालरोग, स्त्री रोग, छाला रोग, साधारण चिकित्सा लगायतका विशेषज्ञले महोत्तरीका विभिन्न वाढीपीडित स्थानमा एकै पटकमा स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताए ।
शिविरमा ज्वरो, रुखाखोकी, झाडापखाला, जीउ चिलाउनेजस्ता रोगका बिरामीको उपचार गर्नुका साथै दुई महिनादेखि दुई वर्षसम्मका बालबालिका र गर्भवती महिलालाई पाँच किलोका दरले पोषिलो पीठोसमेत वितरण गरिएको अधिकृत झाले जानकारी दिए ।
शिविरमा उपचार लिन आएकाको बिरामीलाई जाँच गरी स्वस्थ्य रहन जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो । बाढी तथा डुबान क्षेत्रमा महामारीजन्य रोग फैलिन नदिन एकै पटकमा महोत्तरीको दुई दर्जनभन्दा बढी स्थानमा जनकपुर अञ्चल अस्पताल, जानकी मेडिकल कलेज, जानकी हेल्थ केयर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका एक दर्जनभन्दा बाढी स्वास्थ्य संस्थाका ७०० स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
गत साउन २८ गते राति भीषण वर्षासँगै आएको बाढीले महोत्तरीका ४० हजार घर डुबानमा परेर दुई लाख स्थानीयवासी सडकमा बसोबास गर्दै आएका थिए । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



