२७ वटा अस्पताललाई बाँढियो ५० करोड रुपैयाँ (सूची सहित)
काठमाडौँ, ३० जेठ । आर्थिक बर्ष सकिन एक महिना बाँकी छँदा स्वास्थ्य मन्त्रालयले २७ वटा सामुदायिक अस्पताललाई ५० करोड अनुदान रकम दिने निर्णय गरेको छ । अनुदानका लागि ३४ वटा अस्पतालको निवेदन परेपनि २७ वटालाई मात्रै अनुदान दिने निर्णय गरेको हो । बाँकी अस्पतालको मापदण्ड नपुगेको बताइएको छ ।
निमित्त सचिवको रुपमा डा किरण रेग्मीले जिम्मेबारी सम्हालेकै दिन मन्त्रालयले सूचना प्रकाशित गरी सामुदायिक अस्पतालहरुलाई अनुदान दिनेसम्वन्धी निर्णय सार्वजनिक गरेको हो । त्यसो त प्रमुख डा रेग्मीले ढेड महिना (१५ बैशाख) अघि नै प्रमुख विशेषज्ञको रुपमा यी अस्पतालहरुलाई अनुदान दिन ठिक हुने भन्दै तत्कालिन सचिव डा सेनेन्द्रराज उप्रेती समक्ष राय पेश गरेकी थिइन । तर निर्णय भएको सार्वजनिक आज गरिएको छ ।
आजबाट निवृत्त भएका सचिव डा उप्रेतीले गतवर्ष भन्दा एक महिना अघि नै निर्णय सार्वजनिक भएको बताए । ‘गतवर्ष असार अन्तिममा यस्तो निर्णय हुन्थ्यो अहिले त जेठ मै भयो । यसलाई त सकारात्मक मान्नु परयो,’ डा उप्रेतीले भने ।
विगतमा समेत अनुदान लगेका कतिपय सामुदायिक अस्पतालहरुले पारदर्शी रुपमा खर्च नगरेको, विपन्न तथा असहायहरुलाई निशुल्क सेवा दिनुपर्नेमा त्यस्तो गरेको प्रतिवेदन नपठाएको, उपकरण तथा मेसिनरी औजारमा खर्च गर्नुपर्ने रकम अन्यत्र खर्च गरिएको, कतिपयको मापदण्ड नै नपुगेको भन्ने समेत उल्लेख छ । तर ती अस्पतालले पनि अनुदान रकम पाएका छन् ।
काठमाडौँकै दुई अस्पताललाई अनुदान ?
सामुदायिक अस्पताललाई अनुदान दिने निर्देशिकाले उपत्यकाका कुनै पनि अस्पताललाई अनुदान दिन नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर काठमाडौँमा रहेको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीे र सुषमा कोइराला मेमोरियल अस्पतालले झण्डै २ करोड ११ लाखको दरले रकम पाउने भएका छन् ।
अनुदान पाउने बाँकी अस्पतालहरु यसप्रकार छन् :