नेपाल औषधि लिमिटेडआठ वर्षपछि पुनःसञ्चालनमा

 

काठमाडौँ, २४ वैशाख । नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ ।

उद्योगले आजबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्व रहेको लिमिडेटलाई गत असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज आयोजित कार्यक्रममा सो उद्योगको पुनःसञ्चालनको उद्घाटन गरे । विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो ।

सरकारले जिएमपीअनुसार पुनःसञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुुरुप पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो ।

उद्योगमन्त्री जोशीले जीवनजल र ज्वरो आउँदा प्रयोग गर्ने सिटामोल नपाएर धेरैले ज्यान गुमाउनुपरेको अवस्थामा पहिलो चरणमा जीवनजल उत्पादन सुरु गरिएको बताए । लिमिटेडले चाँडै निःशुल्क उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधिलगायत अन्य औषधि समेत उत्पादन गर्ने उनले बताए ।

दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दाबढी प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेडको लक्ष्य छ । तेस्रो चरणमा क्याप्सुल, पेनसिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा सञ्चालनमा ल्याई स्लाइन र हेमोडाइलसिस फ्युल्ड जस्ता अति आवश्यक औषधिको उत्पादनका लागि काम अगाडि बढाएको छ ।

उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले उपभोक्ताले सस्तो र सुलभ मूल्यमा गुणस्तरीय औषधि पाउनुपर्छ भन्ने मान्यताका साथ सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई पुनःसञ्चालनमा ल्याएको बताए ।

उद्योग सचिव शङ्करप्रसाद कोइरालाले उद्योग मन्त्रालयले नेपालमा बन्द रहेका सबै सरकारी, निजी उद्योगलाई सञ्चालनमा ल्याई आर्थिक विकासका साथै आगामी १० वर्षमा रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले आगामी तीन महिनाभित्र सिटामोललगायत औषधि उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २७ भन्दाबढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको बताए । उत्पादन गरिएका औषधि अहिलेका प्रचलित बजार मूल्यभन्दा सस्तोमा जनताले प्राप्त गर्ने उनको भनाइ छ ।

नेपालमा आधुनिक औषधि उत्पादन सरकारी स्तरबाटै उत्पादन गर्ने उद्देश्यका साथ कम्पनी ऐन २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नेपाल औषधि लिमिटेडआठ वर्षपछि पुनःसञ्चालनमा

  1. Jasle Pani Yo Himmat Garyo Uni Swagat Yogya Chha. Rajniti Swartha Bata Bahira Niskana sake yasta mahan Karya garna Dhilo Hune Chhaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *