छात्रबृत्तिका पाँच सय बढी डाक्टरले देशभर सेवा दिदै

काठमाडौँ, २१ बैशाख । छात्रबृत्तिमा अध्ययन गरेका पाँच सय बढी डाक्टरले देशका विभिन्न ठाँउमा पुगेर सेवा दिएका छन् । एमबीबीएस अध्ययन पछि कम्तीमा दुई बर्ष सरकारले खटाएको स्थानमा गएर सेवा दिनुपर्ने व्यवस्था अनुरुप उनीहरुले सेवा दिएका हुन् ।

स्वास्थ्य सेवा विभागका उपसचिव तारानाथ लुईटेलले गतवर्षसम्म छात्रबृत्तिमा अध्ययन गरेका झण्डै अढाई सय डाक्टर दुई बर्षे सेवामा प्रवेश गर्ने गरेको भन्दै यसपटक देखि सो संख्या तीन सयको हाराहारीमा पुगेका बताए । ‘अव अर्को वर्ष देखि ६ सय छात्रबृत्तिका डाक्टरले सेवा गर्नेछन् । यसले आम जनताको स्वास्थ्य सेवामा सकारात्मक सहयोग पुरयाउनेछ,’ उनले भने ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम अन्तर्गतका कलेजहरु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौँ विश्वविद्यालय अन्तर्गतका कलेजहरु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रबृत्तिमा अध्ययन गरेकाहरुले उत्तीर्ण भईसकेपछि दुई बर्ष खटाएको ठाँउमा गएर सेवा गर्नुपर्छ ।

‘स्वास्थ्य चौकीसम्म डाक्टर पुरयाउने सरकारी योजनालाई छात्रबृत्तिका डाक्टरले राम्रैसंग टेवा दिएका छन् । सरकारी दरबन्दी कम छ त्यसैले छात्रबृत्तिका डाक्टरको उपस्थिति महत्वपूर्ण छ । छात्रबृत्ति र सरकारी दरवन्दीले समेत नपुगेकै कारण करार सेवामा समेत डाक्टरहरु पठाउन थालिएको छ,’ लुईटेलले भने ।

‘तराईबासी डाक्टर तराई जानै मान्दैनन्’
छात्रबृत्तिमा अध्ययन गरेका हुन् या लोकसेवा पास गरेका डाक्टर हुन् तराईमा जानै अप्ठेरा मान्छन् । अझ तराई बासीसमेत तराई भन्दा पहाड र अझ दुर्गम क्षेत्रमा जान रुचाउने गरेका छन् । उपसचिव लुईटेल भन्छन् , ‘पहिले पहिले अति रोजाईमा पर्ने सुगम र तराईलाई क्षेत्रलाई छोडेर अहिले दुर्गममा पो जान खोज्दछन् । तराईमा त पठाउनै गाह्रो भएको छ ।’

‘किन जाँदेनन भने तराईमा सुरक्षा फितलो छ । पुराना डाक्टरले हामीलाई राम्रो व्यवहार पनि गर्दैनन् । अर्कोकुरा दुर्गम रोजे पैसा पनि धेरै छ । सुरक्षा पनि राम्रो । पछि बढुवाका लागि नम्बर पनि बढी त्यसैले सुरुमा दुर्गम नै रोज्दछन्,’ तराईबासी एक चिकित्सकले भने ।

उपसचिव लुईटेलले मध्यतराईका आठ जिल्ला तथा पश्चिम तथा मध्यपश्चिमका केही जिल्लाहरुमा चिकित्सक पठाउन गाह्रो भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *