यी हुन् नेकपा (एमाले)ले चुनावी घोषणापत्रमा अघि सारेका स्वास्थ्यका विषयहरु

काठमाडौँ, १८ बैशाख । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले स्वास्थ्यका विषयमाहरुमा निम्नअनुसारका कुराहरु उल्लेख गरेको छ ।

स्वास्थ्य बीमा, निःशुल्क उपचार :  स्वस्थ नागरिक, जिम्मेवार सरकार

  1. संविधानमा प्रबन्ध भएको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन सुनिश्चित गरिने छ । यसका लागि स्वास्थ्यमा उल्लेख्य मात्रामा लगानी बृद्धि गरिने छ ।
  2.  सबै नागरिकहरूलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गरिने छ । गरिबीको रेखामुनि रहेका जनताको लागि बीमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गरिदिनेछ ।
  3. संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले संचालन गरेका अस्पतालहरूमा नेपाली नागरिकले तोकिएका  रोगहरूको निःशुल्क उपचार प्राप्त गर्ने छन्।
  4. हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा  ५० शैøयाका सुविधासम्पन्न अस्पताल सञ्चालन गरिने छ ।
  5. प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण, प्रविधि र स्वास्थ्यकर्मी सहितका स्वास्थ्य चौकी र टोलहरूमा समेत खोप सेवा, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व एवम् बाल तथा शिशु स्वास्थ्य सेवाहरू सञ्चालन गरिने छ ।
  6.  स्थानीय तहको केन्द्रमा स्थापना हुने अस्पतालमा एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची, प्राकृतिक  र परम्परागत स्वास्थ्य सेवा लगायत वैकल्पिक उपचार पद्धतिलाई एकीकृत र समन्वयात्मक रुपमा सेवामा ल्याइनेछ ।
  7. पाँच वर्ष भित्रमा हरेक गाउँ र नगरलाई कुपोषणरहित बनाउने गरी पोषण कार्यक्रम संचालन गरिने छ । खोप, स्वास्थ्य सेवाको अभाव र कुपोषणका कारण कुनै पनि बालबालिकाको मृत्यु हुनेछैन । मातृ मृत्युको प्रमुख कारण रहेको वालविवाहको अन्त्य गरिनेछ ।
  8. गर्भवती तथा सुत्केरीलाई पोषणसहित आवश्यक सम्पूर्ण सेवा निःशुल्क र सहज ढङ्गले उपलब्ध गराइनेछ । प्रसुती सेवाको अभावमा आमाको ज्यान जाने अवस्थाको अन्त्य गरिने छ । प्रत्येक वडामा दक्ष नर्ससहितको प्रसुती केन्द्र स्थापना गरिनेछ ।
  9.  घातक स्वास्थ्य समस्याहरूको रुपमा रहेका उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगहरूको औषधी, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराइने छ ।
  10. मृगौला रोगीहरूको लागि डाईलाईसिस तथा प्रत्यारोपण सेवा निःशुल्क तथा सहज ढङ्गले प्राप्त गर्ने गरी प्रत्येक प्रदेशसम्म विस्तार गरिने छ ।
  11. गाउँ/नगरपालिकामा क्यान्सर रोगको निदान र उपचारका लागि प्रदेशमा क्यान्सर उपचार केन्द्र स्थापना गरिने छ । रिफर गर्ने उचित प्रबन्ध मिलाइने छ ।
  12. सुर्तीजन्य पदार्थ तथा मदिराको उत्पादन र विक्री वितरणमा कडाइका साथ नियमन गरिनेछ । अस्वस्थकर खानेकुराको उत्पादन, बिक्री वितरणलाई निरुत्साहित गरिनेछ त्यस्ता खानेकुराको सेवन नगर्न जनचेतना जगाइनेछ ।
  13. विषादीको जथावाभी प्रयोग नियन्त्रण गर्ने तथा स्थानीय स्तरमा अर्गानिक खानेकुराको उत्पादन र वितरणमा विशेष सहुलियत दिइनेछ ।
  14.  समुदाय आधारित विभिन्न कार्यक्रम सञ्चालन गरी मानसिक समस्याको रोकथाम, पहिचान, मनोविमर्श, तथा निःशुल्क उपचारको व्यवस्था गराइनेछ ।
  15. डेंगु, चिकनगुनिया, मलेरिया, कालाजार, हात्तीपाइले लगायत रोगहरूको प्रभावकारी रोकथाम र नियन्त्रण गरिनेछ । उपचारको अभावमा टिबी, निमोनिया, टाईफाइड तथा झाडापखाला जस्ता रोगबाट ज्यान जाने अवस्थाको अन्त्य गरिने छ ।
  16.  घरलाई धुँवारहित बनाउने र बाह्य प्रदुषण नियन्त्रणका लागि उद्योग कलकारखानाबाट उत्पादन हुने हानिकारक धुँवा, धुलो र रसायनको उचित व्यवस्थापनका लागि मापदण्ड निर्धारण गरी कार्यान्वयन गराइने छ ।
  17.  विद्यालय भित्र र बाहिर प्राथमिक उपचार तथा किशोर–किशोरीहरूको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई संचालन गरिनेछ ।विद्यार्थीहरूलाई आवश्यक मनोविमर्श प्रदान गरिने छ । गुणस्तरीय शिक्षा दिन मद्दत गरिनेछ ।
  18.  स्वास्थ्य चेतना अभिबृद्धि गर्ने तथा जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू संचालन गरिने छ । व्यायाम, योग र मनोरञ्जनलाई जीवनशैलीको अंग बनाउन सार्वजनिक रुपमा व्यायाम र मनोरञ्जन केन्द्रहरू सञ्चालन गरिने छ ।
  19.  दुर्घटनाका कारण हुने घाइतेहरूको शीघ्र उपचार तथा उपयुक्त ठाउँमा प्रेषण गर्नेगरी राजमार्गमा पर्ने गाउँ/नगरमा प्रत्येक आधा घण्टाको दुरीमा ट्रमा सेन्टर स्थापना गरिनेछ ।
  20. विकट गाउँहरूको लागि एयर एम्बुलेन्सको व्यवस्था गरिनेछ । आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद्बाट हुने घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गरिनेछ ।
  21. नेपालमा पाइने जडिबुटी तथा औषधीजन्य पदार्थको संरक्षण तथा सम्बद्र्धन गरी औषधि उत्पादनको विशेष योजना बनाइनेछ । आयुर्वेद तथा पूरक चिकित्सा पद्दतिहरूको प्रबद्र्धन, अनुसन्धान, शिक्षा र सेवालाई गुणस्तरीय बनाइनेछ ।
  22. अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । जेष्ठ नागरिक तथा विपन्न परिवारका व्यक्तिहरूलाई स्वास्थ्य सेवा सहज र निःशुल्क रूपमा उपलब्ध गराइनेछ ।
  23.  गुणस्तरीय स्वास्थ्य सेवाका लागि विशेषज्ञ र विषयगत स्वास्थ्य प्राविधिकको आवश्यकता पहिचान गरी शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्थाहरूको स्थापना र सञ्चालन गरिने छ । स्वास्थ्य सम्बन्धी खोज तथा अनुसन्धानलाई प्रोत्साहन गरिनेछ । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउने कुरालाई निरुत्साहित गरिने छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *