घाइतेको उपचार नगरेपछि स्वास्थ्यले बनायो छानवीन टोली

 

काठमाडौँ, १० बैशाख । स्वास्थ्य मन्त्रालयले घाइतेको उपचार नगर्ने पोखरास्थित मणिपाल अस्पतालका चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध छानवीन सुरु गरेको छ ।

मन्त्रालयका सहसचिव डा भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरी छानवीन अघि बढाएको हो ।

टोलीमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवना खतिवडा छन् । यो टोलीले भोली नै पोखरा पुगेर घटनाको बारेमा अनुसन्धान सुरु गर्नेछन् ।

शनिबार मुक्तिनाथको दर्शनार्थी बोकेको बस मुस्तागमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । घाइते १५ जनालाई नेपाली सेनाको हेलिकप्टरले पोखरास्थित मणिपाल अस्पतालमा ल्याएपनि चिकित्सकहरुले आन्दोलन भएको भन्दै उपचारमा अस्विकार गरेका थिए । त्यसपछि घाइतेहरुलाई अन्य अस्पतालमा पठाइएको थियो ।

आइतबार स्वास्थ्य मन्त्री गगन थापाको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको बारेमा सत्यतथ्य बुझ्न समिति गठन गरेको हो । ‘हामी भोली नै त्यसतर्फ जाँदैछौँ,’ छानवीन समितिका संयोजक डा. श्रेष्ठले भने, ‘त्यसपछि मात्रै के कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल होला ।’

उनले अस्पताल प्रशासनसंग घाइतेको उपचार किन नगरेको भन्ने बारेमा स्पष्टीकरण सोधिएको समेत बताए । टोलीले आन्दोलनको बारेमा समेत बुझ्ने बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *