घाइतेको उपचार नगरेपछि मणिपालका डाक्टरविरुद्ध नाराबाजी

पोखरा १० बैशाख ।  आन्दोलन छ भन्दै दुर्घटनाका घाइतेको उपचार गर्न नमाने पछि मणिपाल मेडिकल कलेज टिचिङ हस्पिटलका आन्दोलनरत चिकित्सकविरुद्ध नाराबाजी भएको छ ।  भवितव्यको बेलामा समेत आन्दोलनका नाममा न्युनतम मानवीय सम्वेदना समेत नदेखाएको भन्दै आन्दोलनरत चिकित्सक विरुद्ध नाराबाजी भएको हो ।

हिजो मुक्तिनाथ दर्शन गर्न जानेक्रममा गाडी दुर्घटनामा परेका १५ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट मणिपाल अस्पताल पुरयाइएको थियो । तर आफूहरु आन्दोलनमा रहेको भन्दै गम्भीर घाइतेलाई समेत उपचार नगरी फर्काइदिएका थिए ।
मणिपालमा उपचार नभएपछि नजिकैको फिस्टेल हस्पिटल, गण्डकी मेडिकल कलेज, फेवा सिटी हस्पिटल र मेट्रोसिटी हस्पिटलमा विरामी पठाइएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा तारा पौडेलले मणिपालका चिकित्सकले आन्दोलनमा रहेको भन्दै घाइतेको उपचार नगरेको बताए । उनले उपचार नगरेपछि चिकित्सकविरुद्ध आम सर्वसाधारणले आक्रोश पोखेको जानकारी दिए । ‘चिकित्सकको पनि इथिक्स हुन्छ, दुर्घटनाका घाइतेहरुलाई ल्याइसकेपछि आन्दोलनमै भएपनि उपचार गर्नुपर्दथ्यो तर त्यसो गर्नुभएनछ । यो ज्यादै नै दुखद पक्ष हो । यसले चिकित्सकको मर्यादामा समेत ठेस पुग्छ,’ डा पौडेलले भने ।

उनले मणिपालमा उपचार नभएपछि ९ जना फिस्टेल हस्पिटलमा, ४ जना गण्डकी मेडिकल कलेजमा, १ जना फेवासिटी र १ जना मेट्रोसिटी हस्पिटलमा पठाइएको बताए ।

गण्डकी मेडिकल कलेज टिचिङ अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. टुमाया घलेले आफ्नो अस्पतालमा ४ जना विरामी आएको र अवस्था खतरामुक्त भएको बताइन् । उनले घाइतेहरु अन्य अस्पतालमा बाँढीएको जानकारी दिइन् । ‘यस्तो दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा चाहिन्छ एउटै अस्पतालमा सबैलाई राख्दा समयमै उपचार नहुन सक्छ । त्यसैले विभिन्न अस्पतालमा विरामी बाँढिएको हो,’ उनले भनिन् ।

भारतीय लगानीमा सञ्चालित मणिपाल मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नेपाली डाक्टरहरुले आफूहरुलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै तीन महिना देखि सेवा अवरुद्ध गर्दै आएका छन् ।

स्वास्थ्य बीमा गरेकाले समेत उपचार पाएनन
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका कास्की बाग्लुङ र म्याग्दी जिल्लाका विमीतहरुले उपचार गराउने अस्पतालको रुपमा मणिपाल कलेज तोकिएको छ । तर चिकित्सकहरुको आन्दोलनका कारण उनीहरुले समेत उपचार पाएका छैनन् ।यसले बीमा कार्यक्रमको प्रभावकारीतामा समेत सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।

क्षेत्रीय निर्देशक डा पौडेलले मणिपालको समस्याको बारेमा स्थानीय स्तरमा छलफल भएपनि समाधान नभएको भन्दै केन्द्रीय स्तरबाटै यसको समाधान गर्नुपर्नेमा जोड दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *