एसएसबीको गोली लागि मृत्यु भएका गौतमको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

भीमदत्तनगर, २ चैत । पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्टले देखाएको छ ।

कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताए । “शरीरमा भेटिएको गोली शव परीक्षणका क्रममा झिकेर प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ”, प्रहरीनायब महानिरीक्षक देउजाले भने, “विधिविज्ञान प्रयोगशालाबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्छ ।”

प्रहरी केन्द्रीय कार्यालयअन्तर्गत रहेको विधिविज्ञान प्रयोगशालाका एक प्रहरी अधिकारीले गौतम हत्याको गोली प्रयोगबारे रिपोर्ट बनाएर सुदूरपश्चिम पठाइसकेको जानकारी दिए । उनले प्रयोगशालाबाट रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताए । शवपरीक्षण रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

त्यसैगरी, घटनाकै दिन गत बिहीबार नेपाल तथा भारतीय पक्षबीच आनन्द बजारको सीमाक्षेत्रमा भएको झडपका क्रममा नेपाल प्रहरीका अधिकारीको हराएको एक थान पेस्तोल र सात राउन्ड गोली अझै भेटिएको छैन । सीमाक्षेत्रमा भारतीय पक्षले लखेट्ने क्रममा प्रहरी सहायक निरीक्षकको साथमा रहेको लोडेड चाइनिज पेस्तोल भाग्ने क्रममा हराएको प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले हराएको पेस्तोलबारे बाहिर खुलाएको छैन । पेस्तोल खोज्न प्रहरी छानबिन टोली लै गठन गरी परिचालन गरिएको छ ।

घटनापछि कञ्चनपुरको गड्डाचौकी, बेलौरी, आनन्दबजार क्षेत्रका नेपाल–भारत आवत–जावत गर्न नाका सहज बन्न सकेका छैनन् । गौतमको हत्यासँगै दुई दिनसम्म यहाँको स्थिति तनावग्रस्त बन्नुका साथै नेपाली पक्षले भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि आगजनी गर्न थालेपछि सीमानाकामा समेत आवागमनमा असहजता थपिएको थियो ।

स्थिति सामान्य बन्दै गइरहेको भएपनि भारतीय सुरक्षाकर्मीले सीमावर्ती भारतीय बनबासा बजारतर्फ नेपाली सवारीसाधन लैजान रोक लगाएका छन् भने भारतीय सवारीसाधन पनि भीमदत्तनगरतर्फ आउन सकेका छैनन् । गड्डाचौकी नाकामा भारतीय एसएसबीले सरसामान किनमेलका लागि नेपालीलाई साइकल र पैदलमा जान दिएको छ । सवारीसाधनमा रोक लगाएपछि दुवै देशका नागरिकलाई आवागमनमा असहज भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *