वीर अस्पतालमा तेत्तीस वर्ष पछि मानसिक रोगको उपचार सेवा फर्कदै

काठमाडौँ, २६ फागुन । बीर अस्पतालले ३३ बर्ष पछि पुन मानसिक रोगको उपचार सेवा सुरु गर्न लागेको छ । मानसिक अस्पताल पाटनसंगको सहकार्यमा अस्पतालले आगामी २ चैत देखि मानसिक रोगको उपचार सेवा सुरु गर्न लागेको हो ।

यसअघि बीरमा रहेको मानसिक उपचार युनिट विसं २०३९ सालमा पाटनस्थित मानसिक अस्पतालमा स्थानान्तरण गरिएको थियो । सोही अस्पतालसंग सहकार्य गरि अब बीरबाटै उपचार सेवा दिन खोजिएको हो ।

अस्पतालले सुरुमा साताको दुई दिन (आइतबार र बुधबार) मानसिक रोगको ओपिडी सेवा प्रदान गर्ने जनाएको छ । त्यसका लागि मानसिक अस्पतालबाट विशेषज्ञ चिकित्सक आउनेछन् ।

सेवा सञ्चालन गर्ने सम्वन्धमा आज भएको सम्झौतामा बीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेत र मानसिक अस्पताल पाटनका निर्देशक डा सुरेन्द्र शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि बोल्दै बीरका निर्देशक डा बस्नेतले बीरबाट सबैखालका सेवा उपलव्ध गराउने उद्धेश्य अनुरुप मानसिक सेवा विस्तार गरिएको बताए । उनले विरामीको चापको आधारमा यो सेवा विस्तार गरिने समेत जानकारी दिए ।

बीरमा सन् १९६३ मा मानसिक रोग युनिट सुरु भएको थियो । त्यसको एक बर्ष पछि अर्थात १९६४ मा मानसिक रोगका विरामीका लागि १४ बेड छुट्याइएको थियो । तर सन् १९८४मा पाटनमा मानसिक अस्पताल खुलेपछि त्यो सेवा उता सारिएको बीरका तत्कालिन मानसिक रोग विभाग प्रमुख डा. देशराज कुँवरले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *