औषधिको मूल्य सरकारले नियन्त्रण गर्ने होइन : औषधि उत्पादक


काठमाडौँ, २१ फागुन । सरकारले औषधिको मूल्य तोक्नु गतल भएको व्यावसायीहरुले बताएका छन् । उनीहरुले औषधि उत्पादनमा सहुलियतपूर्ण बाताबरण बनाईदिन सरकारसंग माग गरेका छन् ।

राजधानीमा शुक्रबारबाट सुरु भएको ‘नेपाल फर्मा एक्स्पो- २०१७’ को उदघाटन गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले लगानीको बाताबरण बनाउन आग्रह गरे । उनले भर्खरै फस्टाउँदै गएको नेपाली औषधि उद्योगलाई लगानी मैत्री बाताबरणको खाँचो रहेको भन्दै नियन्त्रणका नाममा चालिने कदमले राम्रो नगर्ने बताए । उनले बजार र गुणस्तरले मूल्य निर्धारण गर्ने भन्दै सरकारले नियन्त्रण गर्न खोज्नु गलत भएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले परनिर्भरता देखि आत्मनिर्भरता तर्फ अघि बढीरहेको नेपाली औषधि उद्योगहरुलाई सरकारले सहुलियत दिनुको सट्टा अप्ठेरो गर्न तर्फ लागेको भन्दै आपत्ती जनाए । उनले यस्तै अवस्था निरन्तर रहे फैलदै गएको औषधि उद्योग खुम्चिने दावी गरे । उनले नेपाली औषधि उद्योगको गुणस्तरमा शंका नगर्न आग्रह गर्दै त्यसमा उत्पादक तथा व्यावसायी सचेत रहेको बताए ।

नेपाल औषधि व्यावसायीसंघ एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले नेपाली औषधि उद्योगलाई कसरी गुणस्तरीता तर्फ अभिबृद्धि गर्न सकिन्छ भनेर सोच्नुको सट्टा सरकारले दुखदिने काम गरेको आरोप लगाए । उनले औषधिको मुल्य छिमेकी देश भारतमा मात्रै निर्धारण गरिएको र उनीहरुलाई राज्यको तर्फबाट दिइएको सहुलियत र सर्तका बारेमा धारणा राखे ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सरकारले नेपाली औषधि उद्योगलाई व्यवस्थित गर्न व्यावसायीहरुलाई बिचौलियाबाट जोगाउनका लागि मुल्य निर्धारण गरिएको बताए । ‘भन्सारको मुल्य र जनताले किन्ने मूल्यमा दुई तीन सय प्रतिशत फरक छ । यो न उत्पादकले पाँउछ न जनतालाई फाईदा बीचको व्यक्तिलाई लाभ मात्रै हो त्यसैले यसलाई नियन्त्रण गर्नका लागि मुल्य आवश्यक रहेको बताए ।’  उनले औषधि व्यावसायीसंग सरकार हातेमालो गर्न चाहेको बताए ।

आइतबारसम्म चल्ने मेलामा १०८ वटा स्टल राखिएका छन् । जसमा नेपाली कम्पनीका १८ वटा मात्रै स्टल रहेका छन् । एक्स्पोमा नेपाली औषधिको गुणस्तर, अवस्था र नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराईने एक्स्पोका संयोजक दीपक प्रधानले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *