ताला खोल्न गरेको आग्रहलाई अटेरी गरेपछि बल प्रयोग गर्ने मुडमा स्वास्थ्य मन्त्रालय

फाईल तस्विर

काठमाडौँ, २० फागुन ।  सरकारले बल प्रयोग गरेरै भएपनि स्वास्थ्य संस्थामा लागेका ताला खोल्ने तयारीमा लागेको छ । सौहार्दपूर्ण आग्रहलाई स्वास्थ्यकर्मीले बेवास्ता गरेको भन्दै स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयसंग सहयोग मागेर ताला खोल्ने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयको आग्रहमा गृहमन्त्रालयले स्थानीय प्रशासनलाई शनिबार देखि नै स्वास्थ्य संस्थामा लागेको ताला खोलाउने कार्यमा जिल्ला स्वास्थ्यलाई सहयोग गर्न निर्देशन दिएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार स्वास्थ्य संस्थामा लागेका तालाका कारण स्वास्थ्य संस्थाका अत्यावश्यक औषधि खोप तथा नियमित काममा समेत असर परेको भन्दै स्वास्थ्यले सहयोग मागेपछि गृहले आवश्यकता अनुसार प्रहरी परिचालन गर्न स्थानीय प्रशासनलाई दिर्नेशन दिएको हो ।

‘आज सबै जिल्लाका प्रमुख तथा सुरक्षा निकायलाई एसएमएस पुगिसकेको छ । सम्भवत भोलिबाट जनस्वास्थ्यमा लागेका ताला फोडिनेछ,’ गृह स्रोतले भन्यो ।

स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) को कार्यान्वनय गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले माग पुरा गराउने नाममा पोलियो थोपा खुवाउने कार्यक्रमलाई नै अवरोध गर्न थालेपछि सरकार बल प्रयोग गर्न अघि सरेको हो ।

भोलीबाट देशकै प्रतिष्ठासंग जोडिएको पोलियो अभियान सुरु हुँदैछ । स्वास्थ्यकर्मीले नै हो यो अभियानलाई सफल बनाउने तर उनीहरु यो अभियानमा असफल बनाउनुपर्छ भन्दै सार्वजनिक विज्ञप्ती निकाल्दै हिडेका छन्, त्यसैले सरकारले बल प्रयोग गर्ने निस्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने ।

त्यसो त आज मात्रै स्वास्थ्यमन्त्री गगन थापाले विज्ञप्ती जारी गरी स्वास्थ्य संस्थामा लागेको ताला खोली पोलियो थोपा खुवाउने कार्यक्रमलाई सहयोग गर्न कर्मचारीसग आग्रह गरेका थिए । उनले स्वास्थ्य संस्था निर्वाध रुपमा सञ्चालन गर्नु मन्त्रालयको कर्तव्य हो र उक्त कर्तव्य पुरा गर्न मन्त्रालयले जुनसुकै कदम चाल्न बाध्य हुनेछ भनिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *