बिमा सुरु गरियो उपचार दिने बेलामा चिकित्सक नै छैनन्

बैतडी ७ फागुन । गत पुसमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्दा जिल्लामा फागुनबाट बिमा बापतको उपचार सेवा सुरु हुनेछ भनिएको थियो । उपचार पाउने आशमा बैतडीबासीले बीमाका लागि धमाधम नाम दर्ता गर्न थाले तर उपचार गर्ने बेलामा अहिले डाक्टरको अभाव भएको छ ।

जिल्ला अस्पतालमा भएका दुई जना र पाटन प्राथमिक स्वास्थ्य केन्द्रका एक जना गरी ३ जना स्थायी डाक्टर सरुवा भए । अर्को प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा विगत १५ बर्ष देखिनै डाक्टर पुगेका छैनन् । कुल पाँच स्थायी दरबन्दी मध्ये अहिले जिल्लामा एक जना मात्रै कार्यरत छन् । बाँकी दुईजना करारका डाक्टर छन् ।

‘अहिले जिल्ला अस्पतालमा म सहित एक करारका डाक्टर मात्रै छौँ त्यही पनि उहाँ परीक्षाका कारणले केही दिन विदामा हुनुहुन्छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा अर्का एक जना करारका मेडिकल अधिकृत हुनुहुन्छ । मेलौलीमा न करारको न स्थायी एक जना पनि डाक्टर छैनन्,’ जिल्ला स्वास्थ्य प्रमुख समेत रहेका डा अवस्थीले भने ।

उनले स्वास्थ्य विमा सुरु भएको जिल्लामा विमितहरुले उपचार सेवा पाउने बेला भईसकेपनि चिकित्सक नहुँदा अप्ठेरो परेको बताए । ‘हामीले गत २ गते देखि अहिलेसम्म ८ जना जतिको बिमा अन्तर्गतको उपचार सेवा दिईसक्यौँ । तर त्यो प्रयाप्त हुन सकेको छैन । मेलौलीमा डाक्टर छैन जनताले को संग उपचार लिने ? अर्कोमा पनि एक जना डाक्टर छन के कति उपचार गर्ने ?’ डा अवस्थीले भने ।

उनले बैतडीमा चिकित्सक पठाउन स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, विभाग, क्षेत्रको बारम्बार ध्यानाकर्षण गराएपनि सफल हुन नसकेको बताए । ‘मन्त्रालयले सबै स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेको बताउँछ तर हाम्रो प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बर्ष देखि डाक्टर पुगेका छैनन् । पठाईदेउ भन्दै सुनिदैन,’ डा अवस्थीले गुनासो गरे ।

उता सरकारले भने सबै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पुगेको बताउदै आएको छ । केही दिन अघि मात्रै स्वास्थ्य मन्त्री गगन थापाले सबै स्वास्थ्य संस्थामा तीन दिन भित्र  डाक्टर पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *