चुसे नियन्त्रण अभियानका अभियन्ता पनि हुन् आईजीपी चन्द

काठमाडौँ, १ फागुन । नव नियुक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दको स्वास्थ्य क्षेत्रमा बेग्लै पहिचान छ ।

चार बर्ष अघि महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुख रहँदा उनले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने सुर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न अभियान नै सञ्चालन गरे ।

२०६९ बैशाखमा महानगरीय प्रहरी प्रमुख बनेका चन्दले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ले दिएको अधिकार प्रयोग गर्दै उपत्यकामा चुरोट सेवन (चुसे) नियन्त्रण अभियान सुरु गरेका थिए ।

सुरु सुरुमा सार्वजनिक स्थलमा चुरोट सेवन गर्नेलाई सम्झाई बुझाई छोडेको प्रहरीले त्यसपछि भने जरिमाना सहितको कारबाही नै अघि बढाएको थियो ।

उनको अभियान त्यतिवेला सुरु भएको थियो जतिवेला नेपालमा सुर्ति नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनेर पनि लागू हुन सकिरहेको थिएन । चन्दले सो अभियान सुरु गरेको केही समयमा नै राजधानीमा सार्वजनिक स्थलमा चुरोट सेवन गर्नेदर उल्लेख्य रुपमा घटेको थियो । उनले सुरु गरेको यो अभियानलाई पछिल्लो पटक एसएसपी बिक्रमसिंह थापाले निरन्तरता दिएका थिए ।

चन्दले चुसे अभियानलाई काठमाडौँमा मात्रै सिमित गरेनन् । उनी जहाँ सरुवा भएर जान्थे त्यहि सुरु गरिहाल्थे । एसएसपीबाट डीआईजीमा बढुवा भएपछि सुदूरपश्चिमको कमाण्ड सम्हाल्न पुगेका चन्द त्यहाँ पनि चुसे निन्यन्त्रण अभियानलाई प्रभावकारी ढंगले सुरु गरे । उनी त्यहाँ रहँदा सम्म सुदूरपश्चिमका नौ जिल्लामा चुसे नियन्त्रण अभियान प्रभावकारी ढंगले अघि बढेको थियो ।

त्यसो त आईजीपी चन्दले यसअघि धेरै पटक सार्वजनिक रुपमै सुर्ति नियन्त्रण अभियान आफ्नो प्राथमिकतामा पर्ने बताउँदै आएका छन् । युवाहरु कुलतमा लाग्ने पहिलो खुड्किलो, रोग निम्त्याउने पहिलो कारक तथा धनजन खेरफाल्ने माध्यम भन्दै चुसे नियन्त्रण अभियान आफ्नो प्राथमिकतामा परेको बताउने गरेका छन् ।

चन्द आईजीपीमा पुगेपछि अहिले सुस्ताएको सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी कानूनको कार्यान्वनयमा पुन तिव्रता पाउने अपेक्षा गरिएको छ ।

डीआईजी चन्दलाई आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *