अब सबै जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रिया सहितको विशेषज्ञ सेवा सञ्चालनमा आउने

काठमाडौ २६ माघ । सरकारले देशभरका सबै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा संचालन गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

अहिलेसम्म देशका ३० वटा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक छैनन भने आकस्मिक शल्यक्रिया समेत हुदैनन् । मन्त्रालय चिकित्सा महाशाखाका अनुसार शल्यक्रिया नहुने ३० जिल्लामध्ये १३ वटामा आगामी १ फागुन देखि र बाँकी १७ वटामा केही हप्ता पछि सेवा सुरु गर्ने बताएको छ ।

आउदो १ फागुन देखि सेवा सुरु हुने जिल्ला अस्पतालहरुमा सर्लाही , धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपूर, धनकुटा, बाग्लुङको बुर्तिवाङमा रहेका छन् । ति अस्पतालहरुमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजहरुको सहकार्यमा सेवा सुरु गर्न लागिएको हो ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार विशेषज्ञ चिकित्सक नभएका ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने छ ।

अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने उपसचिव लामिछानेले बताए । सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय एक संयन्त्र समेत गठन गरिने भएको छ ।

मन्त्रालयको यो निर्णयसँगै चाडै नै देशभरका सवै जिल्ला अस्पतालहरुमा चौविसै घण्टा बर्षभरी विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा संचालन हुने भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *