जब चिकित्सक आफै हेलिकप्टर लिएर छट्पटिएकी गर्भवतीको उद्धारमा खटिए…

सोलुखुम्बु, २१ माघ । सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ ।

बुङकी निर्मला राईलाई प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याइए पनि शल्यक्रिया नै गर्नु परेपछि त्यहाँका चिकित्सकले जिल्ला अस्पताल फाप्लुमा रिफर गरेका थिए ।

लगत्तै जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका प्रमुखसमेत रहेका चिकित्सक मिङमाछिरी शेर्पा हेलिकोप्टर लिएर सोताङ पुगेका थिए ।

बिहीबार बिहान करिब ११ बजे मनाङ एअरको हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई शल्यक्रिया गरेर शिशुलाई जन्म दिन सफल भएको चिकित्सक शेर्पाले बताए ।

हेलिकप्टर चार्टर गर्दा लागेको सबै खर्च जिल्ला स्वास्थ्य कार्यालयले बेहोर्ने डा. शेर्पाले बताए । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *