बाथमुटुरोगबाट भल्भ बिग्रिएकाको उपचार १ फागुनबाट नि:शुल्क

काठमाडौँ, १५ माघ । सरकारले आगामी १ फागुन देखि बाथमुटुरोगबाट मुटुको भल्भ विग्रिएका सबै उमेर समूहका व्यक्तिको भल्भ नि:शुल्क रुपमा फेरिदिने भएको छ । सरकारले अहिलेसम्म १५ बर्ष मुनिका बालबालिकाको भल्भ बिग्रदाँ निशुल्क रुपमा फेरिदिने गर्दथ्यो ।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१ औँ बार्षिकोत्सब समारोहमा बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले सो जानकारी दिएका हुन् । मन्त्री थापाले मुटुको उपचार हुने मुख्य सरकारी अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट यो सेवा गर्ने तयारी भएको जानकारी दिए ।

उनले बाथमुटुरोगकै कारण थुप्रै युवाहरुले ज्यान गुमाएको, रोजगारी गुमाएको र घरबार विहीन भएको भन्दै ती उमेर समूहका व्यक्तिको लागि निशुल्क उपचार गर्न लागिएको बताए ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले बाथमुटुरोगबाट भल्भ विग्रनेहरुको उपचार निशुल्क गरिदिने सरकारको घोषणा आफैमा महत्वपूर्ण रहेको बताए । नेपालमा प्रतिहजार जनसंख्याको १.२ प्रतिशतलाई बाथमुटुरोग देखिएको आँकडा रहेको भन्दै डा. कोइरालाले यो घोषणाले आर्थिक अभावका कारण भल्भ फेर्न नसक्ने युवा तथा किशोरहरुलाई ठूलो राहत पुग्ने बताए ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिंगल भल्भ फेर्नुपर्दा २ लाख ७५ हजार रुपैयाँ र डबल भल्भ फेर्नुपर्दा ३ लाख २५ हजार रुपैयाँ खर्च हुने गर्छ । केन्द्रका निर्देशक डा. जोतिन्द्र शर्माले गंगालालमा हुने मुटुसम्वन्धी कुल सल्यक्रियामध्ये झण्डै ४० प्रतिशत बाथमुटुबाट भल्भ विग्रिएकाहरुको हुने गरेको बताए । गतवर्ष गंगालालमा मात्रै ६ सय बढीको भल्भ फेरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *