गङ्गालालमा बाह्र हजारको ओपन हार्ट सर्जरी

(कल्पना पौडेल)काठमाडौँ, १२ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा ’ मा रु छ करोड आम्दानी गरेको छ ।

अघिल्लो वर्ष अस्पतालले रु १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए । यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ ।

अस्पतालमा आएमा बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि बिरामी हेरी भएको आम्दानीलाई त्यहाँको सुधार र व्यवस्थापनका काममा खर्च गर्ने गरेको उनले बताए ।

सोही रकमले अस्पतालका लागि पानी, बत्ती, सरसफाइलगायत त्यहाँ कार्यरत कर्मचारीका लागि तलब भत्ताका लागि खर्च गर्ने गरेको छ । अस्पतालले १३ वर्षअघिबाट पेइङ सेवा उपलब्ध गराउँदै आएको छ । गत वर्ष पेइङ र बहिरङगमा एक लाख २५ हजार बिरामीले अस्पतालमा उपचार गराएका थिए । तीमध्ये एक हजार ५०९ जनाले शल्यक्रिया गराएका छन् ।

स्थापनाकालदेखि गत आर्थिक वर्षसम्ममा १८ हजारले मुटुको शल्यक्रिया गराएका छन् भने १२ हजारले ओपन हार्ट सर्जरी गराएको अस्पतालले जनाएको छ ।

बिरामीको चाप बढ्दै गएपछि १६० श्यया भएको अस्पतालमा ४० श्यया थप गरी गत साउनबाट २०० श्ययाको बनाइएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए । एक्कासौँ वार्षिकोत्सव मनाउने क्रममा रहेको अस्पताल विसं २०५२ मा स्थापना गरिएको थियो । अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका मुटुका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् ।

सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । सरकारले विपन्न नागरिक, १५ वर्ष मुनि र ७५ वर्षमाथिका मुटुका बिरामी, मुटुको भल्व फेर्नुपर्ने बिरामीका लागि वार्षिक रुपमा रु ३१ करोड ५० लाख बढी उपलब्ध गराउँदै आएको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४÷६५ सालमा ७१३ बिरामीको उपचार गरेको थियो ।

त्यसैगरी, २०६५/६६ मा ६२७, २०६६/६७ मा ६४८, २०६७/६८ मा ७७६, २०६८/६९ मा ७२१, २०६९/७० मा ६६१, २०७०/७१ मा ६४७ र २०७१/७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ ।

सरकारले १५ वर्ष मुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

यस्तै, सरकारले आव २०६४/६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४/६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताए । सरकारले २०६४/६५ देखि २०७१/७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको जानकारी खड्काले दिए ।

आव २०६६/६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६/६७ बाट आव २०७१/७२ सम्म दुई हजार ३७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *