राजदूतावासद्वारा दुर्गम गाविसलाई एम्बुलेन्स, गाउँले गद्गद्

जुम्ला,२ माघ । यहाँको कालिकाखेतु गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ ।

सदरमुकाम जुम्लादेखि ३६ किलोमिटर दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दूतावासले उपहारस्वरुप एम्बुलेन्स सहयोग गरेको हो । कालिकाखेतु गाविसको प्राथमिक स्वास्थ्य केन्द्रले  एक औपचारिक कार्यक्रम गरी एम्बुलेन्स सेवाको उद्घाटन गरेको हो ।

एम्बुलेन्स सेवाको उद्घाटन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ पण्डितले भारत सरकारद्वारा सहयोग गरिएको एम्बुलेन्सले सिंजा क्षेत्रसहित आसपासका मुगु र कालीकोट जिल्लाका केही गाविसका जनताको स्वास्थ्यमा आएको खतरामा आपत्कालीन सहयोग पुग्ने बताए ।

उनले यसको सही व्यवस्थापन तथा परिचालन र प्रयोगमा भने यहाँको व्यवस्थापन समितिलगायत गाविसवासीले उचित ध्यान पु¥याउन सुझाए । त्यसका साथै उनले विद्युत्बिना अस्पताल सञ्चालन हुन नसक्ने भन्दै स्थानीयस्तरबाट त्यसको पहल गर्नुपर्नेमा जोड दिए । आफ्नो क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेस जुम्लाका सभापति तथा कालिकाखेतु निवासी दीपबहादुर शाहीले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी एम्बुलेन्स सहयोग गर्ने भारत सरकारलाई हार्दिक धन्यवाद दिए ।

सभापति शाहीले ठूलो रोग लाग्दा एम्बुलेन्स सेवा नपाएर यहाँका जनताले मर्नुपर्ने विवशता अब सधैँका लागि टर्ने विश्वास व्यक्त गरे । जिल्ला प्रशासन कार्यालयद्वारा भएको प्रत्यक्ष परोक्ष सहयोगका लागि प्रजिअ पण्डितप्रति उहाँले कृतज्ञता व्यक्त गरे ।

नेपाली काँग्रेस महासमिति सदस्य लंकबहादुर शाहीले यहाँका जनताको स्वास्थ्य अवस्थालाई गम्भीरताका साथ लिई एम्बुलेन्स भित्र्याउन विशेष पहल गर्ने प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुका प्रमुख डा कमलप्रसाद आचार्यलाई धन्यवाद दिए । एम्बुलेन्स भने गरिब जनतामुखी भएर सञ्चालन हुनुपर्ने सदस्य शाहीको आग्रह थियो ।

केन्द्रका प्रमुख डा आचार्यले एम्बुलेन्स मानव जीवनको रक्षक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा तत्काल आउने कठिनाइमा यसले ठूलो सहयोग पु¥याउने जनाए ।

यो केन्द्रले सिंजाका ११ गाविसमात्र नभई कालीकोटको माथिल्लो र जुम्लासँग जोडिएका र मुगु जिल्लाका केही गाविस लाभान्वित हुनेछन्, उनले भने । यसको सेवा प्रवाहबाट यस क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउने उनको भनाइ थियो ।

उद्घाटनमा बोल्ने अधिकांश वक्ताले यसको व्यवस्थापन तथा परिचालनमा आउने चुनौतीका विषयमा पनि प्राथमिक स्वास्थ्य केन्द्र र कालिकाखेतु गाविसले जिम्मेवारीसहित स्वामित्व लिनुपर्ने औँल्याएका थिए ।

यता कालिकाखेतु गाविसका स्थानीय महिला ऐना बुढाले आफूले नचिताएको काम भएको बताउँदै आश्चर्य लागेको बताए । खासगरी यहाँका सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई एम्बुलेन्सले सहयोग गर्ने उनको बुझाइ थियो ।

छिमेकी गाविस महावैपाथरखोला–९ का शेरबहादुर रोकायाले दुर्गमका जनताको भलाइका लागि एम्बुलेन्स ल्याउन पहल. गर्ने र सहयोग गर्ने दुवैलाई धन्यवाद दिए । गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पुगेपछि कालिकाखेतु गाविसवासी खुसीले गद्गद् भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *