रुपन्देहीका दुई अस्पतालमा नि:शुल्क डायलाइसिस सेवा सुरु

44
Shares


रुपन्देही, २५ पुस । रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्त सेवा सुरु गरेका छन् ।

सरकारले निःशुल्क मिर्गौला डायलाइसिसको लागि अनुमति दिएसँगै यी अस्पतालले सेवाको सुरुवात गरेका हुन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलाइसिसका बिरामीको नियमित रुटिन परीक्षण पनि निःशुल्क गर्ने भएको छ । डायलाइसिसका बिरामीले हरेक महिना रुटिन परीक्षण र तीन महिनामा एचबिएसएजी, एचसिभी र एचआइभी परीक्षण गर्नुपर्ने हुन्छ ।

बिरामीको नियमित अवस्था थाहा पाउन सिबिसी, आरएफटी, प्लेटलेस, क्याल्सियम, फस्फोरस्, युरिक एसिड, लिपीड प्रोफाइल, टोटल प्रोटिन, एल्बुमिन, ब्लड सुगरलगायतको परीक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ ।

सरकारले मिर्गौला डायलाइसिस निःशुल्क गरे पछि आर्थिक अभावको कारण अन्य परीक्षण गर्न नसक्ने बिरामीलाई यो निर्णयले ठूलो राहत मिल्ने अस्पतालले जनाएको छ ।

गौतमबुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलमले रुटिन परीक्षणको लागि प्रतिबिरामी वार्षिक करिब रु ४० हजार रकम लाग्ने जानकारी दिए ।

सरकारले यसअघि निःशुल्क डायलाइसिसको अनुमति दिएका सरकारी अस्पतालले समेत रुटिन परीक्षण निःशुल्क नगरेको र गौतमबुद्ध सामुदायिक अस्पताल नै निःशुल्क घोषणा गर्ने पहिलो रहेको अस्पतालले दाबी गरेको छ ।

नेपालका करिब तीन करोड जनसङ्ख्यामध्ये १० प्रतिशतअर्थात करिब ३० लाख जनाको मिर्गौलामा कुनै न कुनै समस्या रहेको बताइन्छ । तीस लाखको १० प्रतिशतअर्थात तीन लाखमा यो समस्या अझै ठूलो छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *