आठ महिनादेखि पदाधिकारी नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त

 

जुम्ला, १६ पुस । आठ महिनादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पदाधिकारी विहीन हुँदा यहाँको प्रशासनिकलगायत समग्र क्षेत्र अस्तव्यस्त बन्दै गएको छ ।

उप– कुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका पदाधिकारी विहीन हुँदा प्रतिष्ठानको दैनिककार्य अस्तव्यस्त बन्दै गएको हो । प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको अवधि सकिएलगतै जेठदेखि प्रतिष्ठान उप–कुलपति विहीन छ ।

अस्पताल निर्देशक डाक्टर जावेद अहमह खानले प्रतिष्ठान छोडेको पनि सात महिना भन्दा बढी भइसकेको छ । त्यस्तै, रजिष्ट्रार श्याम लम्सालको साउनमा कार्यकाल सकिँदा भएको पदाधिकारी रिक्तताले यहाँको प्रशासनिक काममा झनै ठूलो समस्या आएको निमित्त उप–कुलपति डा धर्मराज श्रेष्ठले जानकारी दिए ।

उनले भने, “सामान्यत तल्लोस्तरका काम भए पनि आर्थिक सम्बन्धी ठूला काममा समस्या आउने गरेको छ । पदाधिकारीका विषयमा बारम्बार कुरा उठाउँदा पनि त्यसको सुनुवाई नै गरिँदैन र राजनीतिक भागबण्डाले पनि समस्या बनाएको छ ।”

सरकारले पदाधिकारी एक हप्ताभित्र नियुक्ति गरेर पठाउने भनेको धेरै बितेको र अहिलेसम्म प्रतिष्ठान पदाधिकारी विहीन नै भएको निमित्त मेडिकल डाइरेक्टर डा प्रवीणकुमार गिरीले बताए ।

प्रतिष्ठान नेतृत्व विहीन हुनुले प्रशासनिकसहित शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा समस्या आएको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *