पाटनको एमबीबीएस प्रवेश परीक्षा प्रक्ररण : दुबैपटक प्रकाशित नतिजा बदर


काठमाडौं, ९ पुस । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गत कार्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो दुवै नतिजा सूचीलाई स्वास्थ्य मन्त्रालयले बदर गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानले गत मंसिर १५ र १७ गते प्रकाशित गरेको नतिजासूची विवादित भएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमूख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरि छानविन गरेको थियो ।

नतिजासूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटी तथा लापर्वाही गरेको ठहर सहितको प्रतिवेदन छानविन समितिले बुझाएपश्चात मन्त्रालयले दुवै नतिजासूची बदर गर्न निर्देशन दिएको हो ।

त्रुटिपूर्ण नतिजाका लागि जिम्मेबार पदाधिकारी तथा कर्मचारीलाई आवश्यक कारबाही गर्न प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष सहकुलपति एवं स्वास्थ्यमन्त्री गगन कुमार थापाले सिफारिस गरेका थिए ।

मन्त्रालयले यस पटकको लागि प्रथम चरणको परीक्षामा सम्मिलित सबै अर्थात् १७६९ जना परीक्षार्थीलाई दोस्रो चरणको परीक्षामा गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनौट गर्न समेत निर्देशन दिएको छ ।

परीक्षाको निश्पक्षता, स्वतन्त्रता एवं बस्तुनिष्ठता कायम राख्न पूर्वशिक्षा सचिव दिपेन्द्रविक्रम थापाको संयोजकत्वमा कानुनविद् विजय मिश्र र परीक्षाविद् सिताराम बुढाथोकी रहेको तीन सदस्यीय परीक्षा अनुगमन तथा समवन्य समिति गठन गरेको छ । समितिलाई परीक्षाको बाकी प्रक्रियाको अनुगमन र समन्वय गर्न तथा समग्र परिक्षा प्रणालीको अध्ययन अनुसन्धान गरी प्रतिवेदन दिने जिम्मेबारी तोकिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा श्रेष्ठले जानकारी दिए ।

एमबीबीएस प्रवेश परिक्षाको गहनता, समयको सिमितता, शैक्षिक सत्रमा पर्न सक्ने प्रभाव र सयौं विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दैै मन्त्रालयले निकास दिइएको स्वास्थ्य मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

प्रतिष्ठानले हरेक शैक्षिक सत्रमा ६० जनालाई एमबीबीएस पढाउदै अँएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *