नसर्ने रोगको प्रकोप रोक्न ‘हेल्थ प्रमोसन सेन्टर’

 

काठमाडौँ, ३ पुस –  पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रवद्र्वन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोल्ने तयारी गरेको छ ।

राजधानीमा जनचाप धेरै हुने र पूर्वाधार भएको स्थान हेरी प्रारम्भमा कम्तीमा १० वटा सेन्टर खोल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले अहिले सञ्चालनमा रहेका सहरी स्वास्थ्य क्लिनिकलाई परिमार्जन गरी थप जनशक्तिसहित हेल्थ प्रमोसन सेन्टर खोल्न लागिएको बताए।

यस्ता सेन्टरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्ने र आर्थिक स्रोतका लागि मन्त्रालय र महानगरले समान लगानी गर्ने बताइएको छ ।

यस्ता सेन्टरमा एक/एकजना एमबिबिएस डाक्टर, ल्याब र एक जनस्वास्थ्य अधिकृत रहने छन् जसले नसर्ने रोगका बारेमा परामर्श दिने र पिसाबको जाँचद्वारा मिर्गौला र अन्य रोगको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिने श्रेष्ठले बताए ।

सेन्टरले रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन र खानपानका लागि उपयुक्त सुझाव दिनेछ । सेन्टरको प्रमुख उद्देश्य रोग लाग्नै नदिनु र जोखिममा रहेका व्यक्तिलाई जोगाउनु रहेको उनको भनाइ छ ।

केही समयअघि सरुवा रोगले ग्रस्त बनाएको नेपालमा जीवनशैलीमा आएको परिवर्तनसँगै बदलिएको खानपान, रहनसहनले नसर्ने रोगले व्यापकता लिँदै आएको छ । सरकारको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अहिले ६० प्रतिशत नसर्ने र ४० प्रतिशत सरुवा रोगका कारण मानिसको मृत्यु हुने गरेको छ ।

श्रेष्ठले भने, “सेन्टरमा रहेका जनस्वास्थ्य अधिकृतले खानेपानी, खाद्यान्न, रेस्टुराँ, होटल लगायतका क्षेत्रमा गुणस्तर अनुगमन पनि गर्नेछन् । व्यायाम र योगको पनि व्यवस्था हुनेछ ।”

चरणबद्ध रुपमा देशभरका सहरी स्वास्थ्य क्लिनिकलाई हेल्थ प्रमोसन सेन्टरमा परिमार्जन गर्ने मन्त्रालयको योजना रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *