बीर अस्पतालका निर्देशक डा. बस्नेतले गरे कार्य सम्पादन करार सम्झौता

काठमाडौँ, २४ मंसिर – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङ र बीर अस्पतालका नवनियुक्त निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।

स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा बिहीबार अपरान्ह स्वास्थ्य मन्त्रालयमा भएको सम्झौतामा निर्देशक बस्नेतले अस्पताल सुधारका आफ्ना योजना अघि सार्र्दै उपकुलपति समक्ष टाइम फ्रेम सहित कार्य सम्पादन सम्झौता गरेका छन् ।

‘उहाँ (प्राडा बस्नेत)ले अस्पताल सुधारका अल्पकालिन मध्यकालिन तथा दीर्घकालिन योजना सहित आफ्ना भिजन अघि सार्नु भएको छ र त्यसमा समयसीमा सहित काम सम्पन्न प्रतिवद्धता जनाउनु भएको छ, उपकुलपति गुरुङले भने, ‘मन्त्रीज्यूको उपस्थितिमा उहाँको प्रतिवद्धतालाई न्याम्सको तर्फबाट मैले र अस्पतालको तर्फबाट उहाँ ( प्राडा बस्नेत)ले हस्ताक्षर गर्नु भएको छ ।’

सम्झौतामा अस्पतालको सेवा, सरसफाई, क्यु म्यानेजमेन्ट जस्ता साधारण कुरा देखि सेवा विस्तार, नयाँ प्रविधि, पूर्वाधार लगायतका योजना प्रस्तुत गरिएको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले यसअघि औषधि व्यवस्था विभागका महानिर्देश नारायण ढकाललाई पनि कार्य सम्पादन सम्झौता गराएका थिए । यति समय भित्र यो यो काम सक्नेछौँ भन्दै प्राथमिकताका साथ सुधारका योजना अघि सार्दा संस्थागत संरचनामा समेत परिवर्तन हुने विश्वास गरिएको छ ।

डा बस्नेतले आफू अस्पताल सुधारका भिजन सहित जिम्मेबारी सम्हाल्न राजि भएको भन्दै त्यसैको प्रतिवद्धता स्वरुप कार्यसम्पादन करार सम्झौता भएको बताए ।

डा बस्नेतलाई स्वास्थ्य मन्त्रालयले गत ३० कात्तिकमा कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । बस्नेतले नियुक्ति पाएसंगै अस्पताल सुधारका कार्यहरु अघि बढाइसकेका छन् । त्यसको प्रारम्भिक संकेत देखिन थालिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *