उपत्यकाका थप ७ वटा क्लिनिकमा सिलवन्दी, २ वटालाई चौविस घण्टे पुर्जी काटियो

anugaman
काठमाडौँ, १ मंसिर – स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार मापदण्ड बिपरितका थप ७ वटा क्लिनिकमा सिलवन्दी गरेको छ । अनुगमन टोलीले काठमाडौँका ६ र ललितपुरको १ गरी ७ वटा क्लिनिकमा सिलबन्दी गरेको हो ।

टोलीले वुधबार काठमाडौँमा १४ र ललितपुरमा १६ वटा क्लिनिक तथा फार्मेसीको अनुगमन गरेको थियो । सो क्रममा दर्ता नभएका तथा लामो समय देखि नबिकरण नभएका क्लिनिकहरु सिल गरेको हो ।

बुधबार सिलबन्दी भएका काठमाडौँको क्लिनिकहरुमा बालाजुका नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेन्टल क्लिनिक, अल्का डेन्टल होम, ओशो आशिक डेन्टल क्लिनिक, ओम प्राकृतिक डेन्टल क्लिनिक र बाईपास पोलीक्लिनिक रहेका छन् ।

त्यसैगरी बालाजुकै नोवेल डेण्टल होम र सम्राट पोली क्लिनिक एण्ड मेडिकल सेन्टरलाई चौविस घण्टे स्पष्टिकरण सोधिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका डा रामराज पन्थीले बताए ।

उता मन्त्रालयको अनुगमन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्वमा रहेको अर्को टोलीले ललितपुरका १६ ओटा निजी स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ । ती मध्ये रचना अर्थो न्युरो रिह्याविटेशन सेण्टरलाई तालाबन्दी गरिदिएको चिकित्सा महाशाखाका कृष्ण सुवेदीले जानकारी दिए ।

स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा मन्त्रालय, विभाग तथा जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएको टोलीले यसअघि काठमाडौँ र ललितपुरका गरी १३ वटा क्लिनिकहरु सिल गरिसकेको छ । अनुगमन आगामी आइतबारसम्म चल्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *