निःशुल्क औषधि बिक्री गर्ने सिनियर अहेवलाई स्पष्टीकरण सोधियो
काभ्रे, ८ कात्तिक – निशुल्क औषधि बिक्री गरेको आरोप लागेपछि काभ्रेको तालढुङा स्वास्थ्य चौकीका सिनियर अहेव रामपुकार यादवसंग जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले स्पष्टीकरण माग गरेको छ ।
यादवले स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीलाई जाँच गरी निःशुल्क दिनु पर्ने औषधीलाई चर्को मुल्यमा बिक्री गरेको समाचार प्रकाशित भएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका निमित्त प्रमुख राजाराम अधिकारीले यादवलाई २४ घण्टा भित्र स्पष्टीकरण पठाउन निर्देशन दिएका छन् । यादवलाई पठाएको निर्देशनात्मक पत्रमा भनिएको छ, ‘समाचारमा आएको जस्तो निशुल्क दिनुपर्ने औषधि बिक्री गरेको कुराको बास्तविकता के हो ? पत्र बुझेको २४ घण्टा भित्र आफै उपस्थीत भई लिखित जवाफ सहितको स्पष्टीकरण दिनुहोला” भनिएको छ ।
कार्यालयले निर्धारित समयमा चित्तबुझ्दो जवाफ नआएमा नियमानुसार कारवही गर्न वाध्य हुने चेतावनी पनि पत्रमा दिएको छ ।