बिरामी मृत्यु प्रकरण : उपचार खर्च मिनाहा गर्दै दुई लाख क्षतिपूर्ति तिरेपछि नागरिक अस्पतालको तनाव साम्य
भक्तपुर, २९ भदौ – मृतकका परिबारलाई दुई लाख क्षतिपूर्ति तथा सम्पूर्ण उपचार खर्च मिनाहा गर्ने सहमति भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालको तनाव साम्य भएको छ । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै विरामीका आफन्तले आन्दोलन गरेपछि अस्पताल आज दिनभर तनावग्रस्त रहेको थियो ।
मङ्गलबार दिउँसो सामान्य पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई–६ घर भई हाल लोकन्थली बस्ने २१ वर्षीया मीना विश्वकर्माको राति ११ः४५ बजे मृत्यु भएपछि मृतकका आफन्तले आज दिनभर डाक्टर र अस्पताल सञ्चालकलाई कारबाहीको माग गर्दै अस्पताल घेराउ गरेका थिए ।
अस्पतालमा मृतकको श्रीमान् केशव बराइलीसहितको आफन्त र अस्पताल व्यवस्थापनबीच भएको छलफलबाट रु दुई लाख क्षतिपूर्ति दिने र अस्पतालमा उपचारमा लागेको खर्च मिनाहा गर्ने सहमति भएपछि पीडित पक्षले आन्दोलन फिर्ता लिएर शव बुझेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए ।
सामान्य पेट दुखेर उपचारका लागि ल्याएको श्रीमतीको समयमै उपचार नगरी पाँच घन्टासम्म नदुख्ने औषधि तेब्बर डोज दिएर डाक्टर आउँदैछन् भनेर रोकेर बिरामीलाई अन्य अस्पतालमासमेत लान नदिँदा श्रीमतीको मृत्यु भएको बराइलीको आरोप थियो । रासस
Real new chapnu hi