सूर्ति करकोषमा मन्त्रीको चासो : ‘कोषको रकम किन सदुपयोग भएन ?’

gagan2

काठमाडौँ, १६ भदौ – स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य करकोषको रकमबारे चासो व्यक्त गरेका छन् । उनले बुधबार करकोष व्यवस्थापन समितिका पदाधिकारीलाई बोलाई यसको सदुपयोग गर्ने बारे छलफल गरेका छन् ।

सूर्तिजन्य पदार्थको बिक्री गर्दा छुट्याइने करकोषमा बार्षिक १६ अर्वभन्दा बढी रुपैयाँ प्राप्त हुनुपर्ने देखिन्छ । तर स्वास्थ्य मन्त्रालय अन्तर्गतको करकोषमा भने बार्षिक ४० करोड रुपैयाँ मात्रै प्राप्त हुने गरेको छ । त्यहि रकमको पनि राम्ररी सदुपयोग हुन सकेको छैन् ।

गतआवमा करकोष अन्तर्गतको संघसंस्थालाई दिन छुट्याएको ४ करोड रकम तत्कालिन स्वास्थ्य मन्त्री रामजनम चौधरी, राज्यमन्त्री मोहमद मुस्ताक आलम र करकोषका पदाधिकारीबीच भागवण्डा नमिल्दा प्रिज भएको थियो ।

करकोषबाट रकम लिनका लागि २२१ वटा संस्थाले निवेदन हालेपनि छनौट समितिले मापदण्ड पुगेको ६८ वटा मात्रै रहेको भन्दै कोष उपलव्ध गराउन सिफारिस गरेको थियो । तर तत्कालिन मन्त्री चौधरी र राज्यमन्त्री आलमले मापदण्ड विपरीत देखिएका ३० वटा संस्थाको नाममा रकम छुट्याउनैपर्ने दवाव दिएपछि विवाद भएको पदाधिकारीहरु दावी गर्छन् ।

कोषको रकममध्ये ७५ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगहरु जस्तै क्यान्सर, मुटु लगायतका रोगहरुको उपचार गर्न भन्दै भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई उपलव्ध गराउने गर्छ । १५ प्रतिशत रकम अन्य अस्पताल तथा कोषको प्रशासनिक कार्यका लागि भन्दै छुट्याइन्छ भने १० प्रतिशत रकम सुर्तीनियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि कार्यक्रम गर्न भन्दै विभिन्न गैरसरकारीसंस्थाहरुलाई उपलव्ध गराइने गरिन्छ ।

मन्त्री थापाले बुधबार प्राप्त भएको ४० करोड रकम समेत सदुपयोग हुन नसकेको भन्दै त्यसको प्रभावकारी सदुपयोगको लागि अविलम्व कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । कोषको समिति अध्यक्ष स्वास्थ्य सचिव र सदस्य सचिवमा कानूनको उपसचिव हुने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *