डाक्टर नभएका प्राथमिक स्वास्थ्य केन्द्र २५ वटा मात्रै ! (नाम सहित)
काठमाडौँ, ३१ साउन – स्वास्थ्य मन्त्रालयले डाक्टर नपुगेका प्राथमिक स्वास्थ्य केन्द्र २५ वटा मात्रै रहेको जनाएको छ । मन्त्रालयले ती केन्द्रहरुमा तीन महिना भित्रै डाक्टर खटाउने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पदवहाली गरेकै दिन डाक्टर नपुगेका देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिना भित्र डाक्टर पुरयाउन निर्देशन दिएका थिए । त्यस लगत्तै स्वास्थ्य मन्त्रालयले दरवन्दी भएका वा नभएका डाक्टर पुगेका वा नपुगेका गरि विबरण संकलन सुरु गरेको थियो ।
‘एक साता भित्रै संकलित विवरणमा १६ वटा जिल्लाका २५ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको विवरण आयो’, मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका नासु गायत्रीप्रसाद अधिकारीले ती केन्द्रहरुमा तत्काल चिकित्सक पठाउन विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्लालाई कडा निर्देशन गइसकेको बताए ।
सकेसम्म दरवन्दी तथा स्थायी चिकित्सक खटाउन लागेको र नपुगे करार र छात्रबृत्तिका डाक्टर भएपनि खटाउने बताए । उनले रिक्तभएको ठाँउमा कतिपय तालिममा भएको कतिपय असाधारण विदामा बसेको र कतिपय स्थानमा डाक्टर नै नपुगेको पाइएको बताए ।
कतैको केन्द्रमा ६ जना डाक्टर कतैको केन्द्रमा रित्तै
नासु अधिकारीले काभ्रेको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र दोलखाको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना डाक्टर रहेको बताए । त्यस्तै काभ्रेकै सुनथान प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना डाक्टर रहेको पाइएको बताए ।
एउटै केन्द्रमा आधा दर्जन बढी चिकित्सक हुनु सोर्सफोर्सको काम भएको मन्त्रालयका अधिकारीहरु बताउछन् । उनी भन्छन्, ‘खासगरी करार र छात्रबृत्तिमा अध्ययन गर्नेहरुले दुर्गम र टाढा जानै खोज्दैनन् । सोर्स लगाएर यतै नजिकै खोज्छन् । त्यहि हुनसक्छ ।’
नासु अधिकारीले चिकित्सक नपुगेको केन्द्रहरुमा बढी भएका केन्द्रका चिकित्सकहरुलाई पठाइने तयारी समेत भएको बताए । पछिल्लो तथ्यांक अनुसार देशभर २०४ वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।