प्रधानमन्त्रीको निर्देशन लगत्तै स्वास्थ्य मन्त्रालयको एक्सन : ३ स्थायीलाई २४ घण्टाभित्र मन्त्रालयमा, ५ जनाको करार भंग

काठमाडौँ,३० साउन – स्वास्थ्य मन्त्रालयले नक्कली आरोपित सरकारी तथा करारका चिकित्सकहरुलाई कारबाही सुरु गरेको छ ।मन्त्रालयमा आज बसेको सचिवस्तरीय बैठकले ३ जना स्थायी चिकित्सकलाई २४ घण्टा भित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ । त्यस्तै पाँच जना करारका चिकित्सकहरुको आजैका मिति देखि लागूहुने गरी करार रद्ध गरेको छ ।

नक्कली आरोपित स्थायी चिकित्सकहरुमा लुम्विनी अञ्चल अस्पतालमा कार्यरत सुनील आचार्य, नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत सरोजकुमार सिंह र सोही अस्पतलामा कार्यरत पन्नालाल प्रसाद पटेल छन् । त्यस्तै करारमा सरकारी जागिर खानेहरुमा कुसराज गिरी नारायणी उपक्ष्ँोत्रीय अस्पताल, रामजी यादव जनकपुर अञ्चल अस्पताल, सञ्जयकुमार राय कोशी अञ्चल अस्पताल, मनिस अर्याल कोशी अञ्चल अस्पताल र सन्तोषकुमार झा बीर अस्पताल रहेका छन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी तथा करारका चिकित्सकहरुमाथि मन्त्रालयले कारबाही अघि बढाएको बताए ।उनले भने,‘आरोपित करारका चिकित्सकहरुको करार आजैका मिति देखि भंग गरेका छौँ । स्थायी चिकित्सकहरुलाई २४ घण्टा भित्र मन्त्रालय हाजिर हुन डाकेका छौँ । र आरोपित सबै चिकित्सकहरुको विवरण काउन्सिललाई लेखि पठाएका छौँ । यसपछि लाइसेन्स निलम्वन गर्ने वा नगर्ने काम काउन्सिलको हो ।’

नक्कली आरोपित चिकित्सकहरुले बिरामी जाँचेको खबर सार्वजनिक भएपछि आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई फोन गरि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइवीले गतमहिना ३७ जना चिकित्सकलाई पक्राउ गरि मुद्धा चलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *