काउन्सिलद्धारा चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, एमबीबीएसमा ७३.४६ र बीडीएसमा ६०.४० प्रतिशत उत्तीर्ण
काठमाडौँ, १६ साउन – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सा दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार एमबीबीएस तर्फ ७३.४६ र बीडीएस तर्फ ६०.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा सहभागी हुनका लागि एमबीबीएस तर्फ १ हजार ३० जनाले फारम भरेका थिए । तर शनिबारको परीक्षामा ५ जना विद्यार्थी सहभागी भएनन् । १ हजार २५ जनाले परीक्षा दिएकोमा ७५३ जना उत्तीर्ण (७३.४६ प्रतिशत) भएका थिए । २७२ जना भने परीक्षामा उत्तीर्ण हुन सकेनन् ।
त्यस्तै बीडीएस तर्फको लाइसेन्स परीक्षाका लागि १४४ जनाले फारम भरेका थिए । ती मध्ये ८७ जना(६०.४०) प्रतिशत उत्तीर्ण भएका छन् । बाँकी ५७ जना भने उत्तीर्ण हुन सकेनन् ।
परीक्षा शनिबार विहान ९ देखी १२ बजेसम्म स्वयम्भूस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।