शशाङ्कको स्वास्थ्य अवस्था : आँखा खोले, इसाराले बोले तर अझै ढुक्क छैनन् चिकित्सक !
काठमाडौँ, २२ असार – नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएको छ । यद्धपी अझै पनि अवस्था खतरामुक्त नभएको उपचारमा सम्लग्न चिकित्सकहरुले स्पष्ट पारेका छन् ।
उपचारमा संलग्न डा. लव जोशी बेलुका स्वास्थ्य स्थिति जानकारी गराउने क्रममा कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएको बताए । उनले तर अवस्था अहिले पनि गम्भीर नै रहेको प्रतिक्रिया दिए । उनले बोलाउदा थोरै आँखाले हेर्ने र महसुस गर्ने अवस्थामा रहेको बताए । तर उनले यो औषधिको प्रभाव हो कि साच्चिकै सुध्रिएको हो भनेर यकिन लिन विहीबार विहानसम्म पर्खिनुपर्ने प्रतिक्रिया दिए ।
‘बोलाउदा थोरै आँखा खोल्नु भयो , यसको मतलव उहाँले बोल्नु भयो तर त्यो औषधिको कारणले हो कि साच्चिकै सुधारिएको हो त्यो थाह हुनैछ । यद्धपी विहानको तुलनामा केही सुधार भएको हो भन्न सक्छौँ ,’ डा. जोशीले भने ।
डा. जोशीले भने, “अहिलेकै अवस्थामा कम्तीमा २४ घन्टा समय पार भयो भने स्वास्थ्यमा सुधार आउनेमा हामी आशावादी छौँ ।” नेता कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबको अवस्था स्थिर रहेको जानकारी दिँदै उनले भने, “पर्याप्त मात्रामा पिसाब गर्नुभएको छ, यो राम्रो सङ्केत हो ।”
बिहानको तुलनामा मिर्गौला र कलेजोमा समेत सुधार देखिएको र अहिले उहाँको रक्तचापको अवस्था १२०–५० हुनुका साथै चिकित्सकले औषधिको पूरा मात्रा दिएर उपचार भइरहेको जनाएका छन् । स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि महामन्त्री कोइरालालाई कृतिम श्वास प्रश्वासको सहयोग दिइएको छ ।
सम्पर्क इमेल : [email protected]