काचुली फेर्दै ताप्लेजुङ जिल्ला अस्पताल, एपेन्डिसाइटीस पछि हर्नियाको सफल सल्यक्रिया

IMG_2685

ताप्लेजुङ (२६ बैशाख)- खेजेनिम गाबिस – १ का २८ बर्षीय रिन्जिंग शेर्पा  तीन  महिना देखि पेटको दाहिने काछमा निस्कने मासुको डल्लोबाट पिडित थिए । जुन डल्लो भारी काम गर्दा बाहिर आउथ्यो राति सुत्दा आफै हराएर जान्थ्यो ।

त्यो डल्लोले उनलाई मानसिक तथा शारीरिक समस्या भैरहेको थियो । यौन दुर्बलताको पनि डर थियो । उनले श्रीमतीसंग सल्लाह गरे र जिल्ला अस्पतालका डाक्टरलाई देखाउने निधो गरे ।

गत १७ बैशाखमा जिल्ला अस्पताल पुगेका शेर्पालाई डाक्टरहरुले औषधिले निको नहुने र सल्यक्रिया नै गर्नुपर्ने बताए । उनी झन अकमक्क परे तर संगै आएका मामाले निको हुन्छ भने अप्रेसन नै गरौँ भन्ने सल्लाह पाएपछि उनी अप्रेसनका लागि राजी भए ।

चिकित्सकले आवश्यक जाँच पछि गत २० बैशाखमा उनको हर्नियाको सल्यक्रिया गरिदिए । त्यसको तीन दिन पछि उनी खुशी र स्वस्थ हुँदै खेजेनिम तिर लागे ।

…………………………………………………………………………..

IMG_2690
उस्तै समस्या लिएर बैशाख २१ गते ताप्लेजुङ्ग नगरपालिकाका रोशन सापकोटा बर्ष २६ का पनि अस्पतालको बहिरंग विभागमा आएर उनलाई पनि रिन्जिंगलाई जस्तै सल्लाह दिइयो । शल्याक्रिया गर्नु पर्ने सल्लाह पाए पछि अलिक हच्किए रोशन ।

उनको मानसिकता बुझेर चिकित्सकले रिन्जिंग लाई भेट्न सुझाए । उनले रिन्जिंगलाई भेटे र सबै कुरा बुझेर त्यसपछि केही आँटका साथ आफु पनि अपरेसन गर्न तयार भएको चिकित्सकलाई बताए ।

चिकित्सकको सल्लाह बमोजिम उनको अपरेसन बैशाख २२ गते तय भयो । उनको पनि सफलता पुर्वक अपरेसन भयो । हाल उनी जिल्ला अस्पतालको पोस्ट अप वार्डमा छन् । अपरेसन जिल्लामै भएकोमा दङ्ग छन उनी ।

गत २४ बैशाखमा पेटको देब्रे काछ दुखेर आत्तिएको भन्दै अस्पतालको आकास्मिक कक्षमा एकजना १६ बर्षे किशोर सुरेश शेर्पालाई आफ्नो बाबुले ल्याए । ताप्लेजुङ्ग नगरपालिका २ का उनको विगत दुई महिना देखि नैै देब्रे काछमा डल्लो आउथ्यो अनि जान्थ्यो ।

बाबु आमालाई भन्न लाज मानेर समस्यालाई लुकाई बसेका थिए । तर यसपाली चै धरै पाएनन् उनले । किनकि यस पाली डल्लो भित्र गएन छाला मुनि नै अल्झेर बस्यो साथै दुख्न पनि थाल्यो बेलुकी ६ बजे देखि ।

उनको समस्या रिन्जिंग र रोशनको भन्दा गम्भीर खालको थियोर यसलाई मेडिकल भाषामा अब्स्ट्रक्टेड इनगुइनल हर्निया भनिन्छ ।
यसलाई तुरुन्तै अपरेसन गर्नु पर्छ नत्र आन्द्रा कुहेर ज्यान जोखिममा पर्छ ।

तुरुन्तै अपरेसन कक्षमा लगियो । केही क्षणमै उनको ढाडमा नाइटो भन्दा मुनि जिउ लठठाउने सुई दिइयो । अपरेसन शुरु भैहाल्यो र सफलता पुर्वक आन्द्रालाई पेट भित्र पठाई हर्नियाको अपरेसन सम्पन्न भयो । सुरेश पनि अस्पतालको पोस्ट अप वार्डमै छन् । उनी लगाएत उनका बाबु आमा खुशीले गदगद छन् ।

………………………………………………………………………………………….

IMG_2253

विकसित मुलुकमा मात्रै होइन, नेपालकै राजधानी अथवा त्यस्तै ठूला शहरका अस्पतालमा एपेन्डिसाइटिस, हर्निया वा हाइड्रोशिलको सल्यक्रिया सफल भयो भन्नु कुनै नौलो विषय होइन । तर पूर्वको पहाडी जिल्ला ताप्लेजुङमा भने यसले निकै ठूलो महत्व पाएको छ । चिकित्सा क्षेत्रमा ठूलो उपलव्धी मानिएको छ ।

दुई महिना अघि एपेन्डिसाइटिसको सफल सल्यक्रिया हुँदा जनता जति खुशी थिए त्यो भन्दा झन खुशी अहिले हर्नियाको समेत सफल सल्यक्रिया हुँदा भएका छन् । र भनेका छन अब ताप्लेजुङबासीले अकालमा मर्नु पर्दैन् ।

ताप्लेजुङ जिल्ला अस्पतालमा यो सेवा यत्ति सजिलै आएको भने होइन् । युवा चिकित्सकहरु डा उत्तम पच्या, दीपक बन्जाडे, डा गुरु पौडेल लगायतका टोलीको रातदिनको मेहनेत हो । यी चिकित्सकहरु जनरल प्राक्टिसनर हुन् तर उनीहरुले जिल्ला अस्पताललाई नमूना बनाउन लागि परेका छन् । उनीहरुको हरेक कदममा एनेस्थेसियामा जगतचन्द्र राजवंशी, स्टाफ नर्स भगवती घिमिरे श्रेष्ठ, सि अनमी ओमकुमारी गुरुङ तथा कार्यालय सहयोगी इन्द्रबुढाथोकी र चन्द्रकला बुढाथोकीले सक्रियरुपमा साथ दिएका छन् ।

IMG_2759

डा. पच्या भन्छन् , ‘हामीले पछिल्लो पटक गरेका सर्जरी विकशित मुलुक र नेपालकै शहरका ठूला अस्पतालका लागि केही पनि होइन तर दुर्गम स्थानमा एकदमै ठूलो सफलता हो । न्युनतम साधन स्रोतमा हामीले सेवा दिन सुरु गरेका छौँ र त्यो सफल भएको छ । यसले जिल्लाको स्वास्थ्य स्तरलाई माथि पुरयाएको छ ।’

‘केही महिनाअघि सम्म एपेन्डिसाइटीस, हाइड्रोशिल तथा हर्नियाका केश जटिल मानेर तत्काल रिफर गर्ने अवस्था फेरिएको छ । अब यस्ता केशहरु हामीले यहि नै हेन्डिल गर्न सक्छौँ ,’ डा. पच्याले भने ।

त्यसो त सल्यक्रिया मात्रै होइन अहिले जिल्ला अस्पतालको ओपिडीमा पनि विरामीको घुइचो लाग्ने गर्छ । सेवामा निखारता प्रदान गर्दै गएपछि आम सर्वसाधारण जिल्ला अस्पताल प्रति आकर्षित हुन् थालेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *