नेपाली नागरिक स्वस्थ हुन थाले ? आर्थिक सर्वेक्षणले यस्तै भन्छ

काठमाडौँ, १४ जेठ । चालु आर्थिक बर्षको आठ महिनामा नेपालमा सञ्चालित सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट १ करोड ५ लाख ३२ हजार ३२५ पटक बहिरंग (ओपिडी) सेवा प्रदान भएको छ । यो तथ्यांक अनुसार नेपालका हरेक अस्पतालमा औषत प्रतिदिन ४३ हजार ८८५ ले ओपिडी सेवा लिने गरेका छन् ।

गतआर्थिक बर्षमा ओपिडी सेवा २ करोड १३ लाख ४९ हजार५१६ थियो । यो संख्यालाई प्रतिदिनको औषत निकाल्दा ५८हजार ४९२ रहेको छ ।

गतवर्ष र यसबर्षको प्रतिदिन ओपिडी सेवा लिनेहरुको विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा ओपिडीमा जाने विरामीको संख्या प्रतिदिन १४ हजार ६०७ ले कमि भएको देखिन्छ ।

सरकारले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०७५/७६ को आर्थिक सर्भेक्षणले देशभरका सबैखाले स्वास्थ्य संस्थामा आकस्मिक सेवा लिनेको संख्या पछिल्लो आठ महिनामा ८ लाख ७५ हजार २०१ जना रहेको उल्लेख गरेको छ । यस अनुसार औषत रुपमा प्रतिदिन ३ हजार ६४७ जना आकस्मिक सेवा लिन अस्पताल पुग्ने गरेका छन् ।

गत आर्थिक बर्षको अर्थात १२ महिनामा आकस्मिक सेवा लिनेको संख्या २० लाख ४७ हजार ३२३ जना रहेको छ । यस अनुसार औषतमा प्रतिदिन ५ हजार ६०९ले आकस्मिक सेवा लिएका थिए । गतवर्ष र चालु आर्थिक बर्षको तुलना गर्दा आकस्मिक सेवा लिनेहरुको संख्या गतवर्ष भन्दा प्रतिदिन १ हजार ९६२ जनाले कमि देखिएको छ ।

यस्तै सर्भेक्षणले चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म ४ लाख ८३ हजार ६०८ जना सबैखाले अस्पतालमा भर्ना भएको देखाएका छ । औषतमा हिसाव गर्दा हरेक दिन २ हजार १५ जना विरामी अस्पतालमा भर्ना भई उपचार गराउँदछन् ।

गत आर्थिक बर्षमा भर्ना भएर उपचार लिनेको संख्या १२ लाख ४१ हजार ९४१ जना पुगेको थियो । यस अनुसार औषत प्रतिदिन ३ हजार ४०३ जना अस्पतालमा भर्ना हुने गर्दथे । अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षको तुलना गर्दा भर्ना हुने विरामीको संख्या १ हजार ३८८ जनाले कमी देखिएको छ ।

जनसंख्या बढदै जाँदा र अस्पतालहरु खुल्नेक्रम बढदै जाँदा विरामीको संख्या अघिल्लो बर्षको तुलनामा बढी हुनुपर्ने हो । तर स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएको चालु आर्थिक बर्षको दोस्रो चौमासिक (फागुनसम्म)को प्रतिवेदनले विरामीको संख्या कमी हुँदै गएको देखाएको छ ।

त्यसो त संघीय संरचनामा जाँदै गर्दा स्थानीय तथा जिल्ला तहबाट नियमित रुपमा आउनुपर्ने विवरण नआएको स्वास्थ्यकै अधिकारीहरुले बताउने गरेका छन् । यो अवस्थामा आर्थिक सर्भेक्षणमा उल्लेख गरिएको तथ्यांक पूर्ण छैन भनेर भन्न गाह्रो पर्दैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *