एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठले गरे सगरमाथा आरोहण
- रोशा बस्नेत
काठमाडौँ, ९ जेठ । एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका छन । उनी सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत भएको दावी गरिएको छ ।
श्रेष्ठले बुधबार विहान ८ः१५ मा सगरमाथाको चुचुरोमा पाइला टेकेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पूर्वराष्ट्रिय फुटबल खेलाडी उनले ‘स्टेप–अप क्याम्पेन : सेकेण्ड फेज एभरेष्ट एक्स्पिीडिशन’ (अभियान अघि बढाऔँः दोस्रो चरणको सगरमाथा आरोहण) अन्तर्गत सगरमाथाको आरोहण गरेका हुन् ।
विसं २०७२ मा नै सगरमाथा चढ्ने योजना भए पनि त्यतिबेला गोरखा भूकम्पका कारण चढ्न नसकेको उनले राससलाई जानकारी दिए ।
श्रेष्ठले यो अभियानमार्फत समाज र देशमा एचआइभीसम्बन्धमा सचेतना फैलाउने लक्ष्य लिइएको बताए ।
उनका अनुसार यस अभियानमार्फत एचआइभी सङ्क्रमित बालबालिकाको गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने छ । विश्व कीर्तिमानी राख्नसमेत सफल हुनुभएका ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्स्पिीडिशनका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्व र आठ पटक आरोहण गरिसक्नुभएका आरोही दाकिपा शेर्पाकोे पथप्रदर्शनमा श्रेष्ठले ८ हजार ८४८ मिटर अग्लो सगरमाथा आरोहण गरेका हुन् ।
उनले सन् २०१३ मा पाँच हजार ४१७ मिटर अग्लो थोराङ ला पास र सन् २०१४ मा छ हजार १८९ मिटर अग्लो आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका थिए । उनले सन् २०१६ मा भर्जिन पिक÷खाङ कार्पीको समेत आरोहण गरिसकेका छन् ।
सगरमाथाको सफल आरोहण गरेर श्रेष्ठले एचआइभी सङ्क्रमितले पनि जोखिम र चुनौतीपूर्ण काम गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन् । उनी देशको मात्रै नभएर विश्वका समेत सङ्क्रमितका लागि आशाको केन्द्र बन्नुभएको छ । एचआइभी सङ्क्रमितलाई गरिने विभेदका विरुद्धमा सन्देश दिने उद्देश्यले यो काम गरेको आरोही श्रेष्ठले बताए ।
श्रेष्ठमा २५ वर्ष पहिले एचआइभी सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सुईको प्रयोग गर्दा उनले एचआइभी सरेको थियो । सन् २०१७ को विश्व स्वास्थ्य संगठनको तथ्याङ्कानुसार अहिले विश्वभरमा एचआइभी सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाख छ । नेपालभर ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको नेशनल सेण्टर फर एड्स एण्ड एसटिडी कन्ट्रोलले जनाएको छ । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com