हावाहुरीबाट ३६ को मृत्यु, ७०० बढी घाइते, गम्भीर आठ जनालाई काठमाडौँ ल्याइदै

काठमाडौँ, १८ चैत । बारा र पर्सामा हिजो बेलुका आएको विनाशकारी हावाहुरीबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । ७०० भन्दा बढी घाइते भएका छन् । अति गम्भीर आठ जनालाई नेपाली सेनाको जहाजबाट काठमाडौँ ल्याउने तयारी भएको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका मेसु डा अखिलेस चौरसियाले अहिले पनि एवी पोजेटिभ रगत अभाव भएको बताए । उनले अभाव भएका रगतका लागि नेपाली सेनासंग सहयोग लिनका लागि कुरा अघि बढेको जानकारी दिए ।

उनले गम्भीर घाइते ८ जनालाई बाराको सिमरा एयरपोर्ट तर्फ लैजाने तयारी भएको बताए । नारायणी उपक्षेत्रीय अस्पताल र अरु अस्पतालमा उपचाररत गम्भीर घाइतेलाई नेपाली सेनाको जहाजबाट उद्धार गर्न लागिएको बताए ।

सबै स्वास्थ्यकर्मी परिचालन भएको छ
नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा चौरसियाले हिजो साँझ हावा हुरीपछि एक्कासी आएको घाइतेहरुको भिडको व्यवस्थापन गरी उपचार गर्न निक्कै गाह्रो भएको बताए । ‘हामी न्युन संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी थियौँ । तर जो घटना भयो र गाडीका गाडी घाइतेहरु आउन थाले एकैछिनमा अस्पताल भरियो । घाइतेहरुको उपचार तथा व्यवस्थापन गर्न निक्कै गाह्रो भयो । तर हामी सबै एकजुट भएर सो अवस्थाको सामना गरयौँ । अहिले पनि सय भन्दा बढी घाइते रेकर्डमा छन् । त्यो भन्दा ठूलो संख्या हामीले रेकर्ड गर्नै पाएनौँ । प्राथमिक उपचार गरि पठायौँ ‘ उनले भने ।

आपतकालिन अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीको साथ

मेसु डा चौरसियाले ठूलो संख्यामा अस्पतालमा घाइते आएपछि पछि सबै स्वास्थ्यकर्मीलाई आपतकालिन अवस्थाको सामना गर्न बोलाएको बताए । उनले विदामा बसेका, भोजका लागि निस्केका चिकित्सक, नर्स , प्यारामेडिक्स, सुरक्षा गार्ड लगायतका अस्पतालका सबैजसो स्टाफ आएको बताए । ‘हाम्रो लागि परीक्षा जस्तै भयो । तर हामीले त्यसको सामना गरयौँ । हिजो देखि रातभर नसुतेर उपचार दिइरहेका छौँ । डाक्टर देखि सुरक्षा गार्डसम्म सबै खटिएका छौँ । अब उज्यालो भएपछि गाँउ गाँउबाट आउने घाइतेको संख्या अझ बढ्न सक्छ,’ उनले भने ।

नेशनल मेडिकल कलेजमा विद्यार्थीले नै गरे रक्तदान
यता वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा हावाहुरीबाट घाइते भएका १ सय बढी विरामी रहेको सञ्चालक बसुरुद्धिन अन्सारीले बताए । उनले आएका घाइतेहरुको उपचारमा कुनै कमी नभएको बताए । अन्सारीले घाइतेका लागि आवश्यक पर्ने रगत मेडिकल अध्ययन गर्ने विद्यार्थीले दिएको बताए । हामीकहाँ सबै फ्याकल्टी गरेर १३ सय बढी विद्यार्थी छन् । त्यसैले उपचार र रगतका लागि अभाव भएको छैन । सबै म्यानेज भएको छ । उनले उज्यालो भएपछि गाँउबाट घाइतेहरु आउने क्रम थपिएको बताए ।

घाइतेको निशुल्क उपचार, मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय

यसैबीच वारा र पर्सामा आएको हावाहुरीबाट भएका घाइतेहरुको उपचार निशुल्क गर्ने २ नम्बर प्रदेश सरकारले निर्णय गरेको छ । यस्तै मृतकको परिवारलाई ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति दिने निर्णय भएको प्रदेश २ का गृह मन्त्री ज्ञानेन्द्र यादवले बताए ।
अहिले प्रदेश दुईका सबै मन्त्रीहरु हुरी प्रभावित क्षेत्रमा जाँदैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *