कर्णालीका हिमाली जिल्लासमेत औलोको जोखिमा

सुर्खेत, १३ वैशाख । कर्णालीका हिमाली जिल्लामा औलो रोगको प्रभाव देखिन थालेको छ ।

विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सुर्खेतमा गरेको अन्तर्क्रियामा विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक गरेको हो ।

औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्यांक सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोटको खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताए ।

उनका अनुसार हुम्लाको ताजाकोट १, चङ्खेलीको २, अदानचुली गाउँपालिकाको २ र ३, मुगु सोरु गाउँपालिकाको ४, ५, खत्याडको १, वीरेन्द्रनगर नगरपालिका–७ सहित ९ वडा मध्यम जोखिमका रहेका छन् ।

उनका अनुसार सुर्खेतमा २०, दैलेखमा ३ र कालिकोटमा १ गरी हाल कर्णालीमा २४ जना औलोका बिरामी छन् । उनीहरू सबैको निःशुल्क उपचार भइरहेको छ ।

सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि रोग फैलिन थालेको हो ।

विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ ।

जोखिम बढेपछि माइक्रोस्कोपी र आरडीटी विधिबाट औलो परीक्षण र उपचारका कार्य भइरहेको आचार्यले बताए ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निमित्त निर्देशक डा। रविन खड्काले औलो रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताए ।

सोही लक्ष्यअनुसार कर्णालीमा पनि तीव्ररूपमा नियन्त्रणको कार्यक्रम भइरहेकोे बताउँदै उनले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *