थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक, १३ वैशाख । थाइल्यान्डमा यस वर्ष ‘लु’ बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ ।

तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् ।

बैंककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो ।

यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ । यसका कारण फिलिपिन्सभर विद्यालय बन्द गर्नुपर्यो भने बङ्गलादेशमा उपासकहरूले वर्षाका लागि प्रार्थना गर्नुपरेको छ ।

तापक्रम सूचक ९आद्र्रता, हावाको गति र अन्य कारकहरूलाई ध्यानमा राख्दै महसुस गरिने तापक्रमको मापन० बैंककमा ‘अत्यन्त खतरनाक’ स्तरमा रहेको सहरको पर्यावरण विभागले चेतावनी दिएको छ ।

मुलुकको ग्रामीण उत्तरपूर्वमा रहेको उडोन थानी प्रान्तका अधिकारीहरूले पनि बिहीबार तीव्र तापक्रमको चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार राति जनवरी १ देखि अप्रिल १७ को बीच लुबाट ३० जनाको मृत्यु भएको जानकारी दिएको छ । लुबाट सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो ।

अधिकारीहरूले वृद्धवृद्धा र मोटोपनालगायत अन्तर्निहित अवस्था भएका मानिसहरूलाई घरभित्रै रहन र नियमितरूपमा पानी पिउन आग्रह गरिरहेको थाइल्यान्डका रोग नियन्त्रण विभागका उपमहानिर्देशक डायरेक खाम्पेनले बताए ।

थाइल्यान्ड र दक्षिणपूर्वी एसियाका मुलुकहरूमा अप्रिल सामान्यतया वर्षको सबैभन्दा तातो समय हो तर यस वर्ष अल निनो मौसमी ढाँचाले गर्मीलाई अझ बढाएको छ । गत वर्ष विश्वभर गर्मीको तनाव रेकर्डस्तरमा देखिएको थियो । संयुक्त राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसिया विशेषरूपले द्रुत गतिमा तातो भइरहेको बताएको थियो ।

यस साता थाइल्यान्डमा भीषण गर्मी अनुभव गरिएको छ । सोमबार उत्तरी प्रान्त लाम्पाङमा ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो गत वर्षको ४४ दशमलव छ डिग्री सेल्सियसको सर्वकालीन राष्ट्रिय रेकर्डभन्दा केही कम हो ।

सीमामा रहेको म्यान्मामा बुधबार तापक्रम ४५ दशमलव नौ डिग्री सेल्सियससम्म पुगेको थियो र बिहीबार पनि तापक्रम यति हुने अपेक्षा गरिएको छ ।

सन् २०२१ को सैन्य विद्रोहबाट उत्पन्न अराजकता र सङ्घर्षका कारण म्यान्माका अधिकांश भागमा विद्युत् बन्द भएको छ । यसबाट मानिसहरूलाई पङ्खा र एयर कन्डिसनका साथ चिसोमा बस्न अवरोध पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *