औषधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योग थपियो, फरच्युना हेल्थकेयरले सुरु गर्‍यो सिरिन्ज उत्पादन

काठमाडौँ, ७ बैशाख । औषधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्न नयाँ कम्पनी थपिएको छ । महिला उद्यमी भवानी राणाको नेतृत्वमा स्थापित फरच्युना हेल्थकेयर प्रालिले नेपालमै सिरिञ्ज उत्पादन सुरु गरेको हो ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं स्वस्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डिजिटल रुपमा उद्योग र त्यसबाट उत्पादित फरच्युना ब्राण्डका सिरिञ्ज सार्वजनिक गरे ।

ललितपुरको चुनीखेलमा स्थापित उद्योगले ‘फरच्युना’ ब्रान्डमा विभिन्न साईजका गुणस्तरिय सिरिजहरु उत्पादन सुरु गरेको छ ।

मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिवद्धता सहित फरच्युना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिजहरुको उत्पादन सुरु गरेको बताएको छ ।

फरच्युना हेल्थकेयरले १ एमएलदेखि ५० एमएल सम्मका निडल सहितका सिरिञ्जहरु तथा इन्सुलिन सिरिञ्ज लगायतका उत्पादनहरु बजारमा ल्याएको छ। कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेज लगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

सबै उत्पादनहरुको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिञ्जको तुलनामा कम रहेको कम्पनीको दावी छ ।

उद्योग स्थापना तथा उत्पादन विविधीकरणका लागि ८० करोड रुपैयाँ पुँजी राखेको फरच्युना हेल्थकेयर प्रालिले हालसम्म ५० करोड रुपैयाँ लागानी भइसकेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रही आईएसओ मापदण्डको स्ट्यान्डर्ड पुरा गरिसकेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नयाँ उद्योग स्थापनाले मुलुकको अर्थव्यवस्थामा टेवा दिने बताए। उनले लगानीका लागि उत्साह कम भएका बेला उद्योग स्थापना भएको भनी खुसी व्यक्त गरे । ‘यो उद्योगले लगानीका क्षेत्रमा भएको नैराश्यतालाई ब्रेक गर्ने काम गरेको छ,’ उनले भने ।

सो कार्यक्रममा नेपाली बजारमा वार्षिक ५८ करोड रुपैयाँको सिरिञ्ज आयात भइरहेको र तिमध्ये अधिकांश उत्पादन गुणस्तरीय नहुँदा स्वास्थ्यकर्मी र विरामीले दुःख पाइरहेको अवस्थालाई अन्त्य गर्न फरच्युना ब्राण्डका सिरिञ्ज प्रतिवद्ध रहेको कम्पनीका अध्यक्ष राणाले बताईन् ।

प्रवन्ध सञ्चालक तथा जिसी ग्रुपका अध्यक्ष इश्वर जिसीका अनुसार कोभिड महामारीपछि मेडिकल सामाग्रीहरु उत्पादनमा आत्मनिर्भर बन्नैपर्छ भन्ने सन्देशलाई आत्मसाथ गर्दै यस फरच्युना हेल्थकेयर प्रालिले सिरिञ्जलगायतका मेडिकल समाग्रीहरु उत्पादन गरी सुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराएर आयात प्रतिस्थापन गर्ने आफूहरुको लक्ष्य रहेको समेत बताए ।

त्यसअघि बोल्दै उद्योग सचिव कृष्णबहादुर राउतले यस उद्योगमार्फत सिरिन्ज आयात प्रतिस्थापन भएर विदेश निर्यातको सुरुवात होस् भन्ने सुभेक्षा प्रकट गरे । उनले यस किसिमका उद्योगहरूले हुर्किन र फस्टाउन पाउनुपर्ने बताए । लगानी सम्मेलनको पूर्वसन्ध्यामा यस किसिमको उद्योगको सुरुवात हुनुले सकारात्मक सन्देश प्रवाह गरेको पनि उनको भनाई थियो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले डब्लुएचओ जिएमपीको पालना हुने गरी नयाँ उद्योग आउनु सुखद कुरा हो भन्दै गुणस्तर पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउन सुझाव दिए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी बजेटमा यस किसिमका उत्पादनलाई संरक्षण गर्ने नीति आउनुपर्नेमा जोड दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *