स्वास्थ्यका दुई सचिवको जिम्मेबारी बाँडफाँड : चौधरीलाई स्वास्थ्य, अधिकारीलाई जनसंख्या

काठमाडौँ, २६ पुस । स्वास्थ्य मन्त्रालयले सरकार र सर्बोच्चले पठाएको दुई सचिवको जिम्मेवारी बाँडफाँड गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मंगलबार मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य सचिव बनेर आएका केदारबहादुर अधिकारी र सर्बोच्चको आदेशबाट मन्त्रालय फर्केकी डा पुष्पा चौधरीलाई कामको बाँडफाड गरिदिएका हुन् ।

यद्धपी मन्त्रीले सचिवको जिम्मेवारी तोक्न कानुनी रुपमा नमिल्ने भन्दै सचिव अधिकारीले सो निर्णय स्वीकार गरेका छैनन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार स्वास्थ्य सचिवको रुपमा डा पुष्पा चौधरीलाई नै ल्याइएको छ । अधिकारीलाई जनसंख्या महाशाखा हेर्ने गरी जनसंख्या सचिवको रुपमा जिम्मेवारी दिइएको छ । त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभाग अधिकारीको भागमा परेको छ । स्वास्थ्य सचिवको जिम्मेवारी प्राप्त गरेकी डा चौधरीले मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखा सहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी प्राप्त गरेकी छन् ।

‘प्राविधिक रुपमा स्वास्थ्यको सचिवको जिम्मेवारी डा चौधरीले पाउनु भएको छ । अप्राविधिकको जिम्मेवारी अधिकारीलाई दिइएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

‘तीन महिना पछि मिल्यो मन’
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकै सिफारिसमा तीन महिना अघि मन्त्रिपरिषदले सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यलयमा तानेको थियो ।

त्यसबेला मन्त्री र उनका सहयोगीहरु सचिव चौधरीले काममा निकै असहयोग गरेको भन्दै आलोचना गर्ने गरेका थिए । चौधरीले सर्बोच्चबाट स्टे अर्डर ल्याएपनि उनलाई जिम्मेवारी नदिई प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो ।

तर मन्त्रालयमा केदारबहादुर अधिकारी स्वास्थ्य सचिवको रुपमा आइसकेपछि परिस्थिति फेरिएको छ । उनै मन्त्री र राज्यमन्त्रीले अहिले डा चौधरीलाई पुरानै जिम्मेवारीमा फर्काएका छन् ।

यद्धपी अधिकारी समेत सचिव भएका कारण केही जिम्मेवारी उनलाई दिइएको हो । सचिव अधिकारीले आफूले जिम्मेवारी स्वीकार गरि नसकेको बताए ।

‘जिम्मेवारी बाँढिएर मलाई सही गर्न लगाउनु भएको थियो । मन्त्रीलाई जिम्मेवारी तोक्ने मन्त्रिपरिषदले हो । मन्त्रीले होइन । त्यसैले मैले सहि गरेको छैन,’ अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *