भत्ताको रकम दलित ज्येष्ठ नागरिकको औषधोपचारमा खर्च गर्दै स्वास्थ्यकर्मी

बैतडी, २७ मंसिर । जिल्लाको दुर्गम स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले तालिमबाट आएको दैनिक भ्रमण भत्ताको रकम गरीब तथा आर्थिक अवस्था कमजोर भएका स्थानीय ज्येष्ठ नागरिकको औषधि उपचारमा खर्च गरेका छन् ।

बैतडीको सिगास गाउँपालिका–९ मा रहेको चौखाम स्वास्थ्य चौकीका प्रमुख हेमन्त सिंह साउदले तालीमबाट आएको दैनिक भ्रमण भत्ताबाट वडामा रहेका दलित वृद्धवृद्धाहरूलाई निःशुल्क औषधि वितरण गरेका हुन् ।

साउदले उक्त वडामा ७० वर्षभन्दा माथिका सीतादेवी चुनारा, देवा लुहार र सुना देवी लुहारको घरमै पुगी निःशुल्क औषधि वितरण गर्नाका साथै स्वास्थ्य जाँच पनि गरेका हुन् ।

आर्थिक अवस्था कमजोर तथा हिँड्डुल गर्नसमेत नसक्ने भएकाले घरमै गएर उनीहरूको उपचार गरेको साउदले बताए । उनले शक्ति दिने भिटामिन, दम, पखाला, कम्मर दुख्ने, आँखा रसाउने लगायतका औषधिका साथै नुहाउने साबुन पनि वितरण गरेका छन् ।

स्वास्थ्य जाचँका क्रममा वृद्धाहरूमा उच्च रक्तचापसँगै दम भेटिएको उनले बताए । यही मङ्सिर ७ देखि १४ गतेसम्म कपिलवस्तुमा भएको इम्प्लान्टको तालीमबाट आएको दैनिक भ्रमणभत्ताको रकमले साउदले ज्येष्ठ नागरिकको औषधोपचार गरेको हो ।

दुर्गममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लो स्वराडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका गुल्मका गुल्मपति र सेनानी प्रेमबहादुर गिरीले जानकारी दिए ।

तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिका–४ कुलाउमा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । दुर्गमका नागरिक गाउँघरमै निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशीसमेत भएका छन् ।

नेपाली सेनाले दुर्गममा आएर सर्वसाधारणलाई सेवा दिँदा निकै खुशी भएको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताए । उपचार नपाएर रोग पाल्दै आएका नागरिकले गाउँघरमै निःशुल्करूपमा स्वास्थ्य सेवा लिन पाउँदा हर्षित भएका हुन् ।

गुल्मले शिविरमा हाडजोर्नी, स्त्रीरोग, आँखा, पेट, ग्यास्ट्रिक, दमलगायत सेवा निःशुल्क प्रदान गरेको थियो । साथै गुल्मले महिनावारी, रुघाखोकी, डे«सिङलगायत सेवा दिनुका साथै निःशुल्क औषधि वितरणसमेत गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *