सेवा बिस्तारमा तिब्रता दिदै बर्दिया अस्पताल

पहिलो पटक गरियो पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया

बर्दिया, २५ बैशाख । सेवा बिस्तारको अभियानलाई तिब्रता दिएको बर्दिया अस्पतालमा पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया (ओपन कोलेसिस्टोमी) गरिएको छ । मधुवन नगरपालिका–१, कैलासीकी ४० वर्षीया राजकुमारी शाहीको जिल्ला अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको हो ।

गत १८ बैशाखमा शल्यक्रिया गरी बिरामी २१ बैशाखमा अस्पतालबाट डिस्चार्ज भईसकेकी छन् । यो शल्यक्रिया बर्दिया अस्पतालमा पहिलो पटक भएको हो ।

यसअघि पेटको दुखाइ सहन नसकेपछि गुलरिया नगरपालिका–३, तेजिपुरका ३४ वर्षीय रामलखन यादव ११ बैशाखमा बर्दिया अस्पताल आइपुगेका थिए । परीक्षणका क्रममा थाहा भयो उनलाई हर्नियाको समस्या रहेछ । गत १७ बैशाखमा उनको शल्यक्रिया गरियो । अहिले यादवको अवस्था सुधारोन्मुख छ ।

पछिल्लो समय जिल्ला अस्पतालले आफ्नो सेवा विस्तार गर्दै गएको छ । जसले यहाँका नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस्ता खाले उपचार गर्न यसभन्दा अघि नेपालगन्जलगायतको सुविधा सम्पन्न अस्पतालमा जानु पर्ने बाध्यता थियो । अब बर्दिया अस्पतालबाटै यी उपचार हुने बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डेय बताउँछन् ।

उनको नेतृत्वमा यहाँ एकपछि अर्को सेवा थपिँदै गएको छ । अघिल्लो साता अस्पतालमा मिर्गौला रोगीका लागि हेमोडायलाइसिस सेवा सुरु भएको छ । त्यसैगरि लेजरबाट पयाल्सको अप्रेसन गर्ने तयारीमा अस्पताल जुटिरहेको छ ।

जटिल प्रकृतिका उपचार जिल्लामा उपलब्ध हुनु खुसीको कुरा भएको स्थानीयको भनाई छ ।

त्यसो त विगत देखि नै योजना बनाए पनि अस्पतालमा एनेस्थेसियालोजिस्ट डाक्टर नहुँदा सहायकका भरमा सामान्य प्रकृतिका अप्रेसन हुने गरेका थिए । अब एनेस्थेसियालोजिस्ट डाक्टर भएकाले ठूला तथा जटिल प्रकृतिका अप्रेसन गर्ने मनोबल बढेको सर्जन डा. विजय उपाध्याय बताउँछन् ।

एक महिना अघि बर्दिया अस्पतालमा आएका कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट डा. दिपेन्द्र महासेठले यो अवधीमा साना ठूला गरी ३५ वटा सफल शल्यक्रिया भएको जानकारी दिए । उनले अस्पतालमा अझ केही पूर्वाधार र उपकरण मिलाउन सकेमा थप शल्यक्रियाका थप सेवाहरु सञ्चालन गर्न सकिने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *