चुरोट किन्न आएका व्यक्तिले जब प्याकेटमा लेखिएको सन्देश पढे….

काठमाडौँ, १९ बैशाख ।  ‘धुम्रपानमा नाइट्रोसोमाईन र बेन्जोपाइरिन जस्ता क्यान्सरको कारक तत्वहरु हुन्छन्, धुम्रपान गर्न छोडौं ।’

चिकित्सक र स्वास्थ्यकर्मीले कुनै स्वास्थ्य संस्थामा उपचार गर्न आएका बिरामीलाई भनेको वाक्याशं होईन । यो त चुरोटको प्याकेटमा लेखिएको सन्देश हो । त्यहि प्याकेटको अग्रभागमा तपाईँले गरेको धुम्रपान तथा सुर्तीसेवनले कम तौल भएको अपांग वा मरेको बच्चा जन्मन सक्छ भनेर मृत बच्चाको तस्विर समेत राखिएको छ ।

चुरोट उत्पादक कम्पनीले अचेल बजारमा बिक्रीका लागि पठाएका प्याकेटको ९० प्रतिशत भाग यस्तै स्पष्ट संन्देशसहितको तस्विरले छोपिएको हुन्छ । तर, शहरी क्षेत्रमा सेवनकर्ता खासै घटेको देखिदैन । खासगरी शहरका चोक गल्ली चिया पसलमा फुटकर चुरोट किन्ने र सेवन गर्ने किशोर किशोरी तथा युवाहरुको संख्या बढी देखिन्छ ।

तर, मंगलबार  चिया तथा चुरोट पाइने बागबजारको एक पसलमा चुरोट किन्न आएका एक जना सेवनकर्ता भने यहि सन्देश हेरेर नकिनी फर्के ।

‘म नियमित सेवनकर्ता हुँ । हरेक दिन एक प्याकेट चाहिन्छ । प्याकेटमा चित्र आएपछि मैले छोड्ने बिचार त गरेँ तर सकिन । आज साथीले प्याकेटमा लेखेको कुरा देखाएपछि भने छाड्ने निधो गरेँ । अब देखि यसको सेवन गर्दिन र मेरा साथी सर्कललाई पनि यसबारे जानकारी गराउँछु,’ ती व्यक्तिले आफ्नो नाम उल्लेख नगरी प्रतिक्रिया दिए ।

उनले यसअघि पनि प्याकेटमा भएको चित्रले मात्रै आफ्नो ध्यान आकर्षित नगरेको बताए । ‘खासमा चित्र हुन्थ्यो, त्यो युज टू जस्तो लाग्यो । यसको साइडमा बकाइदाले बुझिने भाषामा क्यान्सर गराउने तत्व हुन्छ, सेवन नगर्नुहोस नै भन्दो रहेछ । प्याकेटमै मानव स्वास्थ्यका लागि विष जस्तै हो भनेर बनाउने कम्पनीले नै लेख्दा लेख्दै हामीले किन सेवन गर्ने ? मैले आजै देखि छाडें,’ उनले भने ।

किशोर अवस्था देखि नै चुरोटको अम्मलीमा परेका उनलाई संगै चिया खाने साथीले यसअघि पनि त्याग्न सन्देश नदिएको भने होइन । तर उनी प्याकेट किन्थे खल्तीमा हाल्थे । मंगलबार पनि संगै चिया खान आएका बेला पसलेसंग उनले एक प्याकेट चुरोट मागे, तर खल्तीमा नहाल्दै संगै रहेका उनका साथीले प्याकेट लिएर उनलाई त्यसमा लेखिएका सन्देश देखाए । त्यसपछि भने उनी झसङ्ग भए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८ तथा संसोधित निर्देशिका २०७१ ले व्यवस्था गरे अनरुप सुर्तीजन्य पदार्थको ९० प्रतिशत भागमा यस्ता चेतावनीमुलक रंगीन तस्बिर सहितको सन्देश प्रकाशित गर्न थालेको हो । तर नियमित सेवनकर्ता र नयाँ सेवनकर्ताहरुले यसमा लेखिएको सन्देश हेर्दैनन् र कतिपयले त्यसको वेवास्ता गर्दछन् ।

बागबजारमा भेटिएका ती व्यक्ति भने आफ्ना साथी सर्कललाई यसबारे जानकारी गराउने बताएका छन् । उनले भने, ‘मैले त अब सेवन गर्दिन, मेरा अरु जो सेवनकर्ता साथीहरु छन्, उनीहरुलाई पनि यसबारेमा एक पटक हेरिदिन र भनिदिन आग्रह गर्दछु ।’

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनी २७ हजार ३०० बढी व्यक्तिको मृत्यु हुने गरेको छ । त्यसैले यसको प्रयोगलाई नियन्त्रण गर्न भन्दै सरकारले विसं २०६८ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन जारी जारेको थियो ।

यसको पूर्ण कार्यान्वयन भने अझै हुन पाएको छैन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *