कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदै

काठमाडौँ, २० बैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुने भएको छ । प्रतिष्ठान र अमेरिकास्थित म्यासाच्युसेट्स जनरल हस्पिटलको साइक्याट्रिक विभागको मुख्य आयोजनामा आगामी २२ र २३ बैशाखमा सम्मेलन हुने भएको हो ।

सम्मेलनका लागि नेपालको समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले समेत सहकार्य गरेका छन् ।

‘यस्तो खालको सम्मेलन नेपालमै पहिलो हो । यसमा समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको सहभागिता रहन्छ । सम्मेलन पछि जुम्ला घोषणा पत्र जारी गरिन्छ,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने । उनले सम्मेलनमा ४६ वटा प्रस्तुतिकरण रहने समेत जानकारी दिए ।

हार्डवर्ड मेडिकल कलेजका सह–प्राध्यापक समेत रहेका म्यासाच्युसेट जनरल हस्पिटल साइक्याट्रि विभागका डा. श्रीधर पौडेलले सम्मेलनको संयोजन गर्दैछन् । दाङका डा. पौडेल विगत १६ वर्षदेखि हार्डवर्ड मेडिकल स्कुलको साइक्याट्रिक विभागमा कार्यरत छन्।

सम्मेलनको नारा ‘सबैको मानसिक स्वास्थ्यका लाथि नवप्रर्वतन तथा सहकार्य’ राखिएको छ ।

नेपालको मानसिक स्वास्थ्यको उपचार पद्धति परम्परागत नै रहेको डा. पौडेलले बताए । सम्मेलनले उपचार पद्धतिमा नवीनताको सुरुवात गर्नका लागि सम्मेलनले भूमिका खेल्ने डा. पौडेलको विश्वास छ ।

मानसिक समस्या अहिले विश्वमै नयाँ चुनौतीका रुपमा देखा परेको पनि डा. पौडेलले बताए । उनले निकै नै छोटो अवधीमा कर्णालीमा सम्मेलन गर्ने निर्णय गरी काम सुरु गरिएको जानकारी दिए । ‘हामीले ६ हप्ताअघि मात्रै कर्णालीमा अन्तराष्ट्रियस्तरको साइक्याट्रिक सम्मेलन गर्न अवधारणा बनाएर कार्यान्वयन गर्न थालेका हौँ । पहिलो पटक यति छोटो समयमा महत्वपूर्ण इभेन्टको आयोजना हुँदैछ । यो आफैमा ऐतिहासिक हुने भएको छ,’ डा. पौडेलले उत्साहित हुँदै भने ।

नेपालकै दुर्गमस्थानमा सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साइक्याट्रिक लैजान समेत कठिन भइरहेको छ । यो सम्मेलनले त्यो समस्या समाधान गर्नका लागि समेत महत्वपूर्ण हुन सक्ने डा. पौडेलले बताए ।

उपकुलपति डा. रावलले कर्णालीको अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पनि जुम्लामा हुने सम्मेलनमा जान देश तथा विदेशका साइक्याट्रिक्सको चासो रहेको बताए ।

उनले सम्मेलनका लागि हरेक व्यक्ति आफ्नै खर्चमा जुम्ला जान लागेको समेत जानकारी दिए ।

दुई दिने सम्मेलनमा २०० बढी साइक्याट्रिक्स तथा त्यस विषयका विद्यार्थी तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता हुने आयोजकले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *