वीरको एमबीबीएस कार्यक्रम र दुवाकोट परियोजना आउदो वर्ष देखि अघि बढ्ने प्रधानमन्त्रीको उद्घोष

काठमाडौँ, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा एमबीबीएस र  दुवाकोट परियोजना आगामी आर्थिक बर्षबाट सञ्चालनमा आउने बताए । उनले यी दुई कार्यक्रम सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी आर्थिक बर्षबाट कार्यान्वयनको चरणमा आउने दावी गरेका हुन् ।

आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २२ औँ स्थापतना दिवसलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘वीर अस्पताललाई जनताको भरोशाको केन्द्रविन्दु बनाउन आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापनका लागि बजेटको व्यवस्थापन गर्न सरकारले प्राथमिकता दिने छ भनेर विश्वास दिलाउन चाहन्छु ।’

उनले अगाडी थपे,  ‘देशलाई आवश्यक एमबीबीएस लगायतको चिकित्सकीय जनशक्ति उत्पादन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट वीर अस्पताल र भरतपुर अस्पतालमा आगामी आर्थिक बर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गरिनेछ ।’

सो क्रममा प्रधानमन्त्री प्रचण्डले वीर अस्पताल विस्तारको लागि भक्तपुरको दुवाकोटमा १५०० शैय्याको अस्पताल सहितको गुरुयोजनामा पहिलो चरणमा ५०० शैय्याको अस्पताल र मेडिकल कलेज निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउने बताए ।

न्याम्सको कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसंंग समन्वय र सहकार्य गरी समायानुकल अन्तराष्ट्रिय स्तरको बनाईने समेत बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीले न्याम्स र वीर सहकार्य र सहमन्वय गरेरै अघि बढ्नु पर्ने बताए । तर उनले दुई संस्था एक अर्काका परिपुरुक जस्ता देखिए पनि जिम्मेवारी फरक फरक भएको स्पष्ट पारे । एउटाले उपचार सेवा र अर्कोले शैक्षिक सेवाबाट योगदान दिने हुन् । उनले अर्थशास्त्रीय रुपबाट बर्णन गर्दै वीर माग गर्ने निकाय र न्याम्स आपूर्ति गर्ने निकाय भएको बताए । दुई निकायबीच गडबड हुँदा त्यसले मार्केटमा नराम्रो प्रभाव पर्ने समेत बताए ।

स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीले न्याम्स र वीर अस्पतालबीचको आपसी मदभेद बाहिरिन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले यी दुई निकायको श्रीवृद्धिका लागि मन्त्रालय सधै सकारात्मक रहेको भन्दै गर्नुपर्ने काम र दायित्वमा भने पछि नपर्न प्रतिष्ठान र अस्पतालका पदाधिकारीहरुलाई सुझाव दिए ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले स्थापनाका २२ बर्षमा ३ हजार २२३ जना विशिष्टिकृत जनशक्ति उत्पादन भएको बताए । उनले संविधानको धारा ३५ को स्वास्थ्य सम्वन्धी हक परिपूर्ति गर्न देशमा ठूलो संख्यामा जनशक्ति आवश्यक भएको भन्दै त्यसका लागि न्याम्सको भूमिका अझ बढेको बताए । उनले प्रधानमन्त्रीले समेत एमबीबीएस र दुवाकोट परियोजना प्राथमिकता राखेको भन्दै खुशी व्यक्त गर्र्दै धन्यावाद दिए ।

कार्यक्रममा पूर्व उपकुलपति प्राडा गणेश गुरुङले न्याम्सको जिम्मेवारी र दायित्व धेरै रहेको भन्दै वीरमै मात्रै केन्द्रीत भएर नबस्न सुझाव दिए । उनले दुवाकोट परियोजनालाई प्राथमिकताका साथ अघि बढाउन समेत सुझाव दिए । एक प्रशंगमा प्राडा गुरुङले स्वास्थ्य मन्त्रालयमा अव शैक्षिक कार्यक्रम (कलेज / प्रतिष्ठान) हेर्ने छुट्टै विङ बनाउनु पर्ने बताए । ‘यति धेरै कलेज प्रतिष्ठान छन्, त्यहाँ जाँदा हामी खरदार नासुसंग अल्झिरहेका हुन्छौँ । यसलाई परिवर्तन गर्नु परयो,’ उनले भने ।

कार्यक्रममा शिक्षाध्यक्ष डा लोचन कार्कीले न्याम्सको शैक्षिक कार्यक्रम र डा सन्तोष पौडेलले वीर अस्पतालको उपचार सेवाबारेमा जानकारी गराएका थिए । रजिष्ट्रार डा ज्ञानेन्द्रविक्रम शाहले न्याम्सको गतिविधिबारे जानकारी दिदै स्वागत गरेका थिए ।

सोही अवसरमा न्याम्सका पूर्व उपकुलपति प्राडा दिनेशनाथ गंगोल र स्वर्गीय प्राडा उपेन्द्र देवकोटालाई (मरणोपरान्त) सम्मान गरिएको थियो ।
यसैगरी एमडीएमएसमा उत्कृष्ठ अंक ल्याउने डा रविरमण न्यौपाने, डा निरोज बनेपाली र मुकुन्दप्रसाद यादवलाई स्वर्ण पदकद्धारा विभुसित गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *