सरुवाको निर्णय सार्वजनिक गर्न किन ढिलाई ? कारण यस्तो छ

काठमाडौँ, २ मंसिर । चार हजार बढी स्वास्थ्यकर्मीले सरुवाका लागि हालेको निवेदनको निर्णय स्वास्थ्य सेवा विभागले अझै सार्वजनिक गर्न सकेको छैन् । कात्तिक महिनामा विभागले गर्ने चौथो देखि सातौँ (पाँचौँ तहको आधार पद) तह सम्मको सरुवालागि यसपटक ४ हजार बढी स्वास्थ्यकर्मीले अनलाइन आवेदन दिएका थिए ।

स्रोतका अनुसार सरुवाका लागि विभागका कर्मचारीले यसपटक २ हजार बढी स्वास्थ्यकर्मीको लिष्ट तयार गरेका छन् । तर अन्तिम निर्णयका लागि महानिर्देशक डा गुणराज लोहनी आफैले रुजु गर्दैछन् ।

‘अहिलेसम्म निर्णय भइसकेको छैन् । लिष्ट लिएर कतै गोप्य रुपमा डिजि सर आफै बस्नु भएको छ । अघिल्लो पटक जस्तो गडबड होला कि भन्ने डर छ । त्यसैले गोप्यता राखिएको छ,’ विभागको उच्च स्रोतले भन्यो ।

गत १७ साउनमा भएको काज सरुवामा गडबड (दोहोरिने र खाली हुने समस्या) भएपछि महानिर्देशक डा. लोहनी सचेत हुन खोजेको बताइन्छ । अहिलेसम्म सरुवाको निर्णय नगरेपनि रुजु सकिएपछि अगाडीकै मिति राखेर पत्र तयार गर्ने योजनामा विभाग छ ।

मन्त्रीको लिष्ट ठूलो
विभाग स्रोतका अनुसार यसपटक पनि उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुरेन्द्र यादवको सचिवालयले १ हजार २ सय बढी स्वास्थ्यकर्मीको लिष्ट सरुवाका लागि विभाग पठाएको छ । यता सरकार निकट स्वास्थ्यकर्मीहरुको संगठनले समायोजन ऐन आउनै लागेको बेला ठुलो संख्यामा सरुवा गर्न फ्यालेर सरुवा नगर्न भन्दै महानिर्देशक समक्ष ज्ञापन पत्र बुझाएको छ ।

मन्त्रीको सचिवालयबाट गएको लिष्टले धेरैजसो फ्यालेर सरुवा गर्नुपर्ने अवस्थाका सिर्जना गरेपछि झमेला झन बढेको बुझिएको छ । कहिल्यै दाग नलागेका महानिर्देशक गत साउनको सरुवामा लफडामा पर्नु भयो ।

‘यसपटक त्यसबारेमा विशेष सतर्कता अपनाउने कोशिश गर्नु भएको होला । तर मन्त्रालयबाट आएको लिष्टलाई सम्वोधन गर्नु परयो भने यसपटक पनि गडबढ हुनसक्छ,’विभागका एक अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *