उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवको पार्टी फुट्यो, राई समूह गयो निर्वाचन आयोगमा

काठमाडौँ, २३ बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

अशोक राईको नेतृत्वमा उनीहरुले नयाँ पार्टीको नाम ‘जसपा’ र चुनाव चिन्ह ‘मुठ्ठी’ राखेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए ।

यादवका अनुसार निर्वाचन आयोग पुग्नेमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।  साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।

त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् ।

यतिवेला जसपा अध्यक्ष यादव भने अमेरिका भ्रमणमा रहेका छन् ।

स्वास्थ्य मन्त्रीको रुपमा जनसंख्या सम्वन्धी एक कार्यक्रममा भाग लिन उनी अमेरिका पुगेका हुन् । उनी मंगलबार मात्रै स्वदेश आइपुग्ने छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *